• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित

    • lumbinisanjal
    • २०८२ फाल्गुन २७, बुधबार १४:३८
    1K
    SHARES
    सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित

    बुटवल , २७ फागुन । वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले प्रदर्शन गरेका छन् ।

    ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’,‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित पीडित परिवार र आफन्तले खबरदारी र्‍याली निकाल्दै प्रदर्शन गरेका हुन् ।

    गत शनिबार बिहान ‘प्रयोगात्मक छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

    उनीसँगै रहेका वीरेन्द्रनगर– ९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । इनिशा गुर्भाकोट नगरपालिका– ६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर– १ मा बस्दै आएकी थिइन ।

    मृतकका आफन्तले बलात्कारपछि इनिशाकाे हत्या भएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ ।

    इनिशामाथि बलात्कार भएको वा नभएकोबारे चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । इनिशा वीरेन्द्रनगर– ६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा थिइन् । उनी बिहान ८ बजेसम्म फर्किने भन्दै आमा तिलालाई जानकारी गराएर घरबाट निस्किएकी थिइन् । तर, समयमा घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।

    आमा तिलाका अनुसार छोरीलाई फोन गर्दा मोबाइल स्वीच अफ थियो । उनी पढ्ने विद्यालयमा पनि फोन गर्दा सम्पर्क हुन सकेको थिएन। केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै कसैले ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी दिएको थियो ।

    घटनास्थल पुग्दा इनिशाको शरीर रक्ताम्मे अवस्थामा रहेको, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको आफन्तले बताएका छन् ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २७, बुधबार १४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP