• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    चौथो रुपन्देही खुला फुटसलको उपाधि तिलोत्तमा सुनचाँदी व्यवसायी संघलाई

    • lumbinisanjal
    • २०८३ श्रावण ३१, आईतवार १८:३०
    585
    SHARES
    चौथो रुपन्देही खुला फुटसलको उपाधि तिलोत्तमा सुनचाँदी व्यवसायी संघलाई

    बुटवल । बुटवलमा सम्पन्न चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता–२०८३ को उपाधि तिलोत्तमा सुनचाँदी व्यवसायी संघ रुपन्देहीले जितेको छ। रोमाञ्चक फाइनलमा सियोन एफसीलाई ५–२ गोलअन्तरले पराजित गर्दै तिलोत्तमा सुनचाँदीले उपाधिमाथि कब्जा जमाएको हो।

    फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै तिलोत्तमा सुनचाँदीले सुरुदेखि नै खेलमा दबदबा कायम राखेको थियो। उपाधिसँगै प्रतियोगिताले बुटवलमा फुटसलप्रतिको बढ्दो आकर्षण र युवाको खेलप्रतिको उत्साहलाई समेत उजागर गरेको छ।

    प्रतियोगितामा तिलोत्तमा सुनचाँदीका सौगात रानामगर ७ गोलसहित हाई स्कोरर बने। उत्कृष्ट गोलकिपरको उपाधि सोही टोलीका पदम तामाङले हात पारे। दुवैले नगद ५–५ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे। यस्तै, मिङ्मा शेर्पा प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुँदै नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए।
    दाजुभाई एफसीले फेयर टिम अवार्ड जित्दै नगद ५ हजार रुपैयाँ प्राप्त गर्‍यो।

    एक समारोहबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, रेडबुल लुम्बिनी प्रदेशका डिष्ट्रिब्युटर दिनेश श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, वडा नं. २ का अध्यक्ष सुनिल शाक्य, साझा हस्पिटलका अध्यक्ष गोविन्द खनाल, तिनाउ इन्टरनेशनल हस्पिटलका चिरञ्जीवी श्रेष्ठ, जी ट्वान्टी फाइभका अध्यक्ष सज्जनकुमार भारी, क्लबका अध्यक्ष तेजु रानामगर, वरिष्ठ सल्लाहकार हसन्त लामा तथा सल्लाहकार बासु बश्यालले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरे।

    पुरस्कार वितरण कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले पछिल्लो समय खेलकुदको महत्व निरन्तर बढ्दै गएको बताए। विश्वस्तरमा खेलाडीहरूले खेलकै माध्यमबाट ठूलो सफलता र आर्थिक समृद्धि हासिल गरेको उदाहरण प्रस्तुत गर्दै उनले खेलले स्वास्थ्यसँगै व्यक्ति, समाज र राष्ट्रको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। खेल क्षेत्रमा सरकारी लगानी बढाउन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

    बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले फुलबारी गाइजको स्थापनादेखि हुँदै आएका खेलकुद तथा सामाजिक गतिविधिबारे प्रकाश पारे। उनले खेलकुदले युवालाई सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
    प्रतियोगितामा रुपन्देहीसहित विभिन्न क्षेत्रका ३२ टोलीको सहभागिता रहेको खेल संयोजक सरोज दर्लामीले जानकारी दिए।



    lumbinisanjal   
  • २०८३ श्रावण ३१, आईतवार १८:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP