• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रादेशिक अस्पतालका २ सयभन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्प्रेरणा तालिम

    • lumbinisanjal
    • २०८२ फाल्गुन २, शनिबार १७:५५
    1.5K
    SHARES
    लुम्बिनी प्रादेशिक अस्पतालका २ सयभन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्प्रेरणा तालिम

    ११५औँ वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी कार्यक्रम, सेवा गुणस्तरमा जोड
    बुटवल, ०२ फागुन । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत २ सयभन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूका लागि शनिबार उत्प्रेरणामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अस्पतालको ११५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो।

    कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले स्वास्थ्य सेवा केवल भौतिक संरचना र उपकरणले मात्र पूर्ण नहुने उल्लेख गरे। अस्पतालको गरिमा यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको मेहनत, समर्पण र व्यवहारबाट कायम रहने उनको भनाइ थियो।

    यसैगरी मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्दै सेवामा इमान्दारिताका साथ लाग्न सबैलाई आग्रह गरे। चिकित्सक पेशालाई ‘दोस्रो भगवान’को संज्ञा दिँदै उनले यस पेशासँग जोडिएको गरिमा र कर्तव्य सधैं ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए। अस्पतालप्रति जनताको भरोसा कायम राख्न कर्मचारीहरूको व्यवहार र कर्तव्यपालन निर्णायक हुने उनले बताए।

    कार्यक्रममा मानव सेवा आश्रमका मोटिभेशनल स्पिकर रामजी अधिकारीले सहजीकरण गरेका थिए। उनले मानव सेवा, जीवन र समाजप्रतिको दायित्वबारे व्याख्या गर्दै दैनिक व्यस्तताबीच मानसिक तनाव व्यवस्थापन, व्यक्तिगत जीवन सन्तुलन र सकारात्मक सोचका विषयमा उत्प्रेरणा प्रदान गरे।

    अस्पतालले हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको वार्षिकोत्सव यस वर्ष पनि विविध अतिरिक्त क्रियाकलापसहित सप्ताहव्यापी रूपमा मनाएको छ। स्टाफ नर्स विष्णु पन्थीको संयोजकत्वमा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफ नर्स तथा कर्मचारी सहभागी थिए।

    लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा करिब ९ सय जना कार्यरत छन् भने वार्षिक साढे तीन लाखभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिने गर्दछन्। वार्षिकोत्सवका अवसरमा सम्मान कार्यक्रम, रक्तदान, फलफूल वितरण, सरसफाइ तथा सचेतना कार्यक्रमसँगै भलिबल, फुटबल, ब्याडमिन्टन र म्याराथनजस्ता मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २, शनिबार १७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP