• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजमा नवागन्तुक विद्यार्थीलाई स्वागत

    • lumbinisanjal
    • २०८२ फाल्गुन २, शनिबार ०८:३०
    4.8K
    SHARES
    वेस्टर्न मेगा कलेजमा नवागन्तुक विद्यार्थीलाई स्वागत

    बुटवल ,२ फागुन । बुटवलस्थित वेस्टर्न मेगा कलेजले शैक्षिक सत्र बीएचएम २०२५ मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरूका लागि विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम उत्साहपूर्ण, अनुशासित तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको थियो।

    कार्यक्रमको सुरुआत स्वागत मन्तव्यसहित बीएचएम तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी रज्जु रानाले गर्नुभएको थियो। उहाँले नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि तथा कलेजका अध्यक्ष मेघराज पन्तले विद्यार्थीहरूलाई हार्दिक शुभकामना दिँदै भविष्यमा आइपर्ने हरेक परिस्थितिमा कलेज प्रशासन सधैँ विद्यार्थीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सामाजिक सञ्जालमार्फत फैलिने नकारात्मकता र अराजकता न्यूनीकरण गर्न विद्यार्थीहरूबाटै सकारात्मक सोच र जिम्मेवार व्यवहारको सुरुआत हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

    कार्यक्रममा बोल्दै कलेजका प्राचार्य  किसु शर्माले कलेजले प्रदान गर्ने शैक्षिक तथा अतिरिक्त सुविधाहरूको जानकारी गराउँदै विद्यार्थीहरूले समयपालन, अनुशासन, नियमित कक्षा उपस्थिति तथा ग्रुमिङलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो। उहाँले परीक्षा, असाइनमेन्ट तथा प्रस्तुतीकरणमा शतप्रतिशत सहभागिता आवश्यक रहने उल्लेख गर्नुभयो। साथै, लागूपदार्थ दुर्व्यसन, अभद्र भाषा प्रयोग, अनुचित व्यवहार तथा अमर्यादित गतिविधिबाट टाढा रहन आग्रह गर्नुभयो।

    प्राचार्य शर्माले नेतृत्व विकासका लागि लक्ष्य निर्धारण, सकारात्मक सोच, इमानदारी, उदाहरणीय आचरण, सही संगत तथा समस्यामा प्रतिक्रियात्मक नभई समाधानमुखी बन्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

    कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएको थियो।

    कार्यक्रमको अन्त्य सत्रमा बीएचएम प्रथम सेमेस्टरकी विद्यार्थी समिता जीसीले धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रम बीएचएम तेस्रो सेमेस्टरका विद्यार्थी तथा कार्यक्रमका सभापति जनार्दन चौधरीले समापन गर्नुभयो। कार्यक्रम सञ्चालन विद्यार्थी अंकित ढेङ्गा र स्वीकृति श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संयोजन विकास खत्रीको नेतृत्वमा बीएचएम तेस्रो सेमेस्टरका विद्यार्थी विराज न्यौपानेले गर्नुभएको थियो।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २, शनिबार ०८:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP