• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    नेवारी कन्याको सामूहिक ईही सम्पन्न

    • lumbinisanjal
    • २०८२ माघ २२, बिहीबार १७:१२
    1.7K
    SHARES
    नेवारी कन्याको सामूहिक ईही सम्पन्न

    बुटवल, २२ माघ । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना गर्ने उद्देश्यका साथ बुटवलमा ५९ नेवारी कन्याको सामूहिक ईही (बेलिविवाह) सम्पन्न भएको छ ।

    श्री नेवाः सेवा समितिको आयोजनामा देविनगरस्थित भूपुसैनिक सभा हलमा दुई दिनसम्म ईही तथा कैटापुजा कार्यक्रम सञ्चालन गरिएको हो । नेवारी पण्डितहरूबाट विधिपूर्वक सामूहिक रूपमा ईही सम्पन्न गरिँदा एकातर्फ खर्च न्यून हुने र अर्कोतर्फ संस्कारलाई शुद्ध तथा व्यवस्थित रूपमा निरन्तरता दिन सकिने भएकाले यसको महत्व बढेको समितिका अध्यक्ष डिल्लीकुमार श्रेष्ठले बताए ।

    उनले बदलिँदो सामाजिक परिवेशमा परम्परागत संस्कार संरक्षणका लागि सामूहिक कार्यक्रम प्रभावकारी माध्यम भएको उल्लेख गरे । ईहीमा मूल कन्याका कजी कन्या युनिसा श्रेष्ठ तथा अभिभावक युवराज श्रेष्ठ र सीमा श्रेष्ठसहित कार्यक्रम सफल गर्न सहयोगीहरुलाई सम्मानपत्रबाट सम्मानित गरिएको संयोजक अन्जु श्रेष्ठले बताईन ।

    नेवारी पण्डित हरिशरण राजोपाध्यायले सामूहिक ईही नेवारी संस्कृतिको महत्वपूर्ण संस्कार भएको उल्लेख गर्दै यसले धर्म, संस्कार र सामाजिक एकतालाई मजबुत बनाउने बताए । ईही केवल धार्मिक कर्मकाण्ड मात्र नभई कन्यालाई संस्कार, मर्यादा र सामाजिक जिम्मेवारीप्रति सचेत गराउने माध्यम भएको उनले बताए ।

    कार्यक्रममा पूर्वअध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामूहिक रूपमा आयोजना गर्दा विधि शुद्ध रहनुका साथै खर्च कम हुने, सबै वर्गका परिवारलाई समान अवसर मिल्ने र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न सहज हुने बताए । घरमै कन्यालाई संस्कार र कर्म सिकाउने परम्पराको निरन्तरताका रूपमा ईही रहेको उनले बताए ।
    समितिका सचिव लक्ष्मण श्रेष्ठले समुहमा गरिएको कार्यक्रमबाट नया पुस्तामा ज्ञान सिक्न सहज हुने बताए ।

    छरिएर रहेका नेवार समुदायलाई गोलबद्ध गर्दै आफनो संस्कृति सिकाउनेमात्र नभइ उनिहरुलाई सामाजिक कार्यमा अग्रसर गर्दै आएको उनले बताए । यस वर्ष रुपन्देहीसहित नेपालगञ्ज, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायत विभिन्न जिल्लाबाट ५९ कन्या र ९ बालकहरु कार्यक्रममा सहभागी भएका संयोजक देवकुमार श्रेष्ठले बताए ।



    lumbinisanjal   
  • २०८२ माघ २२, बिहीबार १७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP