• २०८३ भाद्र २४ | Wed, 09 Sep 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही–३ मा कांग्रेस एकढिक्का छ : सुशील गुरुङको उम्मेदवारीपछि बालकृष्ण खाँणको स्पष्ट सन्देश

    • lumbinisanjal
    • २०८२ माघ २०, मंगलवार ०९:५४
    2K
    SHARES
    रुपन्देही–३ मा कांग्रेस एकढिक्का छ : सुशील गुरुङको उम्मेदवारीपछि बालकृष्ण खाँणको स्पष्ट सन्देश

    बुटवल, २० माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर–३ मा पार्टी एकढिक्का रहेको स्पष्ट सन्देश दिएका छन् । नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङको उम्मेदवारी दर्तापछि क्षेत्रीय राजनीतिमा देखिएको टिकाटिप्पणीको बीच खाँणले पार्टीभित्र कुनै मतभेद नरहेको बताएका हुन् ।

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापा खेमाका नेता गुरुङ उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएपछि टिकट नपाएका नेता खाँणबाट सहयोग हुने–नहुने विषयमा स्थानीय तहमा विभिन्न अड्कल सुरु भएका थिए । सोही पृष्ठभूमिमा पार्टीद्वारा सोमबार भैरहवामा आयोजित कार्यक्रममा सहभागी हुँदै खाँणले मञ्चबाटै कांग्रेस रुपन्देही–३ मा एकताबद्ध रहेको सन्देश दिएका हुन् ।
    जिल्ला, क्षेत्रीय तथा वडास्तरका नेता–कार्यकर्ताको सहभागितामा करिब एक घण्टा मन्तव्य दिएका खाँणले आफ्नो अधिकांश समय चुनावी अनुभव र निर्वाचन जित्ने रणनीतिमै केन्द्रित गरे ।

    उनले निर्वाचन अत्यन्त संवेदनशील हुने भएकाले उम्मेदवार र पार्टी नेतृत्वले अभिव्यक्तिमा विशेष सतर्कता अपनाउनुपर्ने सुझाव दिए ।
    चुनावी अभियानका क्रममा ठूला नेताका अनियन्त्रित अभिव्यक्तिले समेत कहिलेकाहीँ हार बेहोर्नु परेको अनुभव सुनाउँदै उनले आफू उम्मेदवार हुँदा सकेसम्म ठूला नेताबाट सम्बोधन नगराएको प्रसंगसमेत स्मरण गरे ।

    पछिल्लो समय रुपन्देही–३ मा नेपाली कांग्रेसप्रतिको जनलहर बढ्दै गएको उल्लेख गर्दै खाँणले यसलाई पार्टीका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरे । “अरू पार्टी बढेको जस्तो मलाई लाग्दैन, हाम्रो पार्टीको राइज भएको छ, त्यो राम्रो हो,” उनले भने ।

    नयाँ पुस्ताको सक्रियतालाई सम्मान गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्नुपर्ने र पुराना पुस्तालाई उचित सम्मानसहित अघि बढ्नुपर्नेमा खाँणले जोड दिए । पार्टीको क्रियाशील सदस्यता नविकरणको विषयमा बोल्दै उनले वडा कार्यसमितिलाई नविकरण नगराएका सदस्यलाई प्रेरित गर्न आग्रह गरे ।

    ‘सिद्धार्थनगरको विषय’तर्फ संकेत गर्दै खाँणले क्रियाशील सदस्यता नविकरण राष्ट्रियता, प्रजातन्त्र र कांग्रेसको समाजवादी विचारसँग जोडिएको विषय भएको बताए । नविकरण नगर्नेलाई समेत क्षमता अनुसारको सम्मान गर्नुपर्ने स्पष्ट धारणा उनले राखे ।

    आफ्ना विगतका निर्वाचन अनुभव स्मरण गर्दै खाँणले पार्टीभित्र एकता र मेलमिलाप नहुँदा आफूले चुनाव हारेको स्वीकार गरे । “मैले जति चुनाव हारेँ, त्यसको एउटा कारण पार्टीभित्रको एकता अभाव नै हो,” उनले भने, “हारपछि मैले कसैलाई दोष लगाइनँ, कारबाहीको सिफारिस पनि गरिनँ ।”

    अन्त्यमा उनले अन्य क्षेत्रहरूमा पनि पार्टीलाई एकढिक्का बनाउने अभियान जारी रहने र रुपन्देही–३ मा भने कांग्रेस उम्मेदवार सुशील गुरुङको साथमा पूर्ण रूपमा एकताबद्ध रहेको दोहोर्‍याए ।
    “नेपाली कांग्रेस अरू क्षेत्रमा पनि एकढिक्का बन्छ । यो तीन नम्बर क्षेत्रमा त तपाईंको साथमा कांग्रेस एकढिक्का छ,” खाँणले भने, “मेरो र सबैको साथले विजयी बन्नुहोस्, शुभकामना ।”



    lumbinisanjal   
  • २०८२ माघ २०, मंगलवार ०९:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP