• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

    • lumbinisanjal
    • २०८२ पुष १३, आईतवार १६:५४
    1.8K
    SHARES
    नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

    बुटवल, १३ पुस । नेपाल बिलियर्ड्स, पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा बुटवलमा हुन लागेको नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
    बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते सोमबारदेखि सुरु हुने प्रतियोगिता एक हप्तासम्म सञ्चालन हुनेछ। प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै आयोजकले आवश्यक सम्पूर्ण व्यवस्थापन पूरा भइसकेको जानकारी दिएको हो।

    संघका अध्यक्ष सुजन पुनका अनुसार प्रतियोगितामा १ सय २८ खेलाडीको सहभागिता रहनेछ। “खेलाडीलाई ८ वटा समूहमा विभाजन गरिएको छ, प्रत्येक समूहमा १६–१६ खेलाडी रहनेछन्। समूह विजेताबीच क्वाटरफाइनल खेलाइनेछ,” अध्यक्ष पुनले जानकारी दिनुभयो।

    उहाँले जिल्लास्तरमा स्नूकर खेलको विकास र खेलाडीको मनोबल बढाउन प्रतियोगिता निरन्तर आयोजना गरिँदै आएको बताउँदै भन्नुभयो, “जिल्लास्तरीय प्रतियोगितामै विजेताले पाउने पुरस्कार रकम हालसम्मकै सर्वाधिक हो। यसले खेलाडीलाई थप मेहनत गर्न र स्नूकर खेललाई व्यवसायिक रूपमा अघि बढाउन प्रेरणा दिनेछ।”
    प्रतियोगिताको उद्घाटन समारोह बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू खस्यौली स्नूकर क्लबमै सञ्चालन हुनेछन्।

    प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ, हाइएस्ट स्कोररले २० हजार रुपैयाँ, तथा उदीयमान खेलाडी र अनुशासित खेलाडीले जनही ५/५ हजार रुपैयाँसहित स्नूकर स्टिक प्राप्त गर्नेछन्।

    प्रतियोगिताको कुल खर्च करिब १५ लाख रुपैयाँ अनुमान गरिएको संघले जनाएको छ। अध्यक्ष पुनका अनुसार प्रतियोगिता सफल बनाउन बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग रहेको छ।

    “स्थानीय सरकारको साथ बिना यस्तो प्रतियोगिता सम्भव हुँदैन, उपमहानगरको सहयोग हाम्रो लागि महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।

    संघका महासचिव प्रकाश क्षेत्रीले संघले हरेक वर्ष नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै स्नूकर खेललाई जिल्लामा थप उचाइमा पुर्‍याउन सफल भएको बताउनुभयो। प्रतियोगिता व्यवस्थापनका लागि ६ वटा उपसमिति गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो।



    lumbinisanjal   
  • २०८२ पुष १३, आईतवार १६:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP