• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    शिवभक्तको पदयात्रा र पुण्यको खोजी: पर्रोहा बोलबम धाममा चहलपहल

    • lumbinisanjal
    • २०८२ श्रावण १६, शुक्रबार १४:१५
    3.8K
    SHARES
    शिवभक्तको पदयात्रा र पुण्यको खोजी: पर्रोहा बोलबम धाममा चहलपहल

    बुटवल, साउन १६ गते । रुपन्देहीको सैनामैना नगरपालिका १ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा जलार्पण गर्ने तीर्थयात्रीको घुईंचो लागेको छ ।

    हरेक वर्षको साउन महिनामा कपिलवस्तुको लक्ष्मणघाट, गुल्मी, स्याङजा र पाल्पाको संगम रिडी, नवलपरासीको त्रिवेणी र तनहुँको देवघाटबाट जल उठाएर पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गमा जलार्पण गर्ने तीर्थ यात्रुको ठूलो भीड नै लाग्ने गरेको छ ।

    पर्रोहा बोलबम धाममा हरेक वर्षको गुरुपूर्णिमादेखि रक्षाबन्धनसम्म बोलबम धाम जलार्पण तथा श्रावणी मेला हुँदै आएको छ । यसैबिच त्रिवेणीबाट जल लिएर पर्रोहा बोलबम धामतर्फ आउँदै गरेको तीर्थयात्रीको टोलीलाई बुटवलमा शुक्रबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले स्वागत गर्नुभएको छ ।

    जलार्पण यात्रा टोलीमा ब्यासाचार्य किशोरकुमार गौतम सहितको करिव चारसय ५० जनाको टोली रहेको छ । पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष चित्रबहादुर कार्कीले आजै पर्रोहा बोलबम धाममा रहेको पुरानो खण्डित नन्दीलाई नारायणी नदीको किनारमा रहेको प्रसिद्ध धार्मिक स्थल गजेन्द्र मोक्ष धाममा विधिपूर्वक जल समाधी गरिएको जानकारी दिनुभयो ।

    धामका अध्यक्ष कार्कीले यात्रामा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको बताउँदै धार्मिक यात्राले धार्मिक सदभाव, आस्था र विश्वास बढाउने विश्वास गरिएको बताउनुभयो । हरेक वर्ष साउन महिनाभर पर्रोहा बोलबम धाम मन्दिरको व्यवस्थापन समितिको आयोजनामा विभिन्न प्रसिद्ध तिर्थस्थलहरुबाट जल ल्याएर धाममा जलार्पण गर्ने परम्परा रहेको छ ।

    गत साउन ३ गते रुपन्देहीको कालीरह, ६ गते सन्तघाट, ७ गते रानीकुवा, ११ र १२ गते लक्ष्मण घाटबाट जल ल्याएर बोलबम धाममा अर्पण गरिसकिएको छ भने शुक्रबार त्रिबेणीबाट ल्याइएको जल पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा जलार्पण गरिएको छ ।

    यसैगरी साउन २१ र २२ गते रिडी रुरु क्षेञबाट जल ल्याउने कार्यक्रम रहेको छ । एक महिनासम्म हुने बोलबम धाम जलार्पण यात्रा तथा श्रावणी मेलामा नेपालको मात्रै नभै भारतका विभिन्न सहरबाट आउने श्रद्धालु भक्तजनले समेत जलार्पण गर्न आउने गरेका छन् ।

    पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा रहेको स्वयं उत्पत्ती शिवज्योतिर्लिङ्गमा साउन महिनाभर जलार्पण गरेमा पुण्य प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको छ ।

    धामका संरक्षक ब्यासाचार्य पण्डित किशोरकुमार गौतम पहेँलो गेरुवावस्त्र धारण गरि बोलबम यात्रा गर्दै यहाँस्थित शिव ज्योतिर्लिङ्गमा पवित्र गंगाजल अर्पण गरेमा पुण्य प्राप्ति हुने, बाढी, पहिरो नदी कटान, भुक्षय जस्ता प्राकृतिक प्रकोप र वर्षायाममा लाग्ने बिभिन्न रोग ब्याधीबाट मुक्ति मिल्ने बताउनुहुन्छ ।



    lumbinisanjal   
  • २०८२ श्रावण १६, शुक्रबार १४:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP