• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सामाजिक सुरक्षामा उद्योगी व्यवसायीको चासो : बुटवलमा अभिमुखीकरण कार्यक्रम

    • lumbinisanjal
    • २०८२ श्रावण १२, सोमबार १७:३०
    4.2K
    SHARES
    सामाजिक सुरक्षामा उद्योगी व्यवसायीको चासो : बुटवलमा अभिमुखीकरण कार्यक्रम

    बुटवल, १२ साउन। बुटवलमा उद्योगी व्यवसायीलाई लक्षित गरी सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा सोमबार संघमा आवद्ध व्यवसायीलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवल शाखाका प्रमुख केदार पौडेलले कोषको स्थापना, उद्देश्य, योगदानमा आधारित संरचना, सहभागी प्रक्रिया, उपलब्ध योजनाहरू तथा लाभहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।

    उहाँका अनुसार यो कोष श्रमिकको दीर्घकालीन सुरक्षाका लागि श्रमिक र रोजगारदाताले संयुक्त रूपमा मासिक ३१ प्रतिशत योगदान गर्ने सरकारी योजना हो। त्यसमा श्रमिकले आफ्नो तलबको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ।

    यस योजनाअन्तर्गत योगदानकर्ताले दुर्घटना बीमा, स्वास्थ्य उपचार, मातृत्व तथा शिशु स्याहार भत्ता, घातक रोग उपचार, दीर्घकालीन पेन्सनजस्ता सुविधा पाउने व्यवस्था गरिएको पौडेलले बताउनुभयो।

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्धताले श्रमिकहरूको भविष्य सुरक्षित हुने विश्वास व्यक्त गर्दै निजी क्षेत्रबाट पहिलोपटक संघले कोषमा सहभागिता जनाएको उल्लेख गर्नुभयो।

    कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले दक्षिण एशियाका तुलनामा नेपालमा न्यूनतम पारिश्रमिक उचित भए पनि महँगी अनुसार अपुग रहेको बताए। त्यसले गर्दा युवाहरू वैदेशिक रोजगारतर्फ पलायन भइरहेको भन्दै सामाजिक सुरक्षा कोषलाई थप वैज्ञानिक बनाउनुपर्ने धारणा राख्नुभयो।

    संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले कोषलाई प्रभावकारी बनाउन साना उद्योगहरूका लागि सहज प्रणाली आवश्यक रहेको र छोटो अवधि काम गर्ने श्रमिकलाई पनि यसमा समेट्ने उपायतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

    कार्यक्रम संघका महासचिव मुक्ति अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाललगायत विभिन्न पदाधिकारी तथा समितिका सभापति र उपसभापतिको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ श्रावण १२, सोमबार १७:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP