• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रामकुमारीको माधव नेपालबारे टिप्पणी, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

    • lumbinisanjal
    • २०८२ असार १५, आईतवार १२:३७
    7.8K
    SHARES
    रामकुमारीको माधव नेपालबारे टिप्पणी, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

    बुटवल,१५ असार । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको भनाइले तरंग ल्याएको छ । शनिबार लुम्बिनीमा नेतृ झाँक्रीले दिएको कडा अभिव्यक्तिले पार्टीमा हलचल ल्याएको हो ।

    उनले शनिबार लुम्बिनीमा अध्यक्ष माधवकुमार नेपालका कारण एकीकृत समाजवादि संकटमा परेको बताएकी थिइन् । उनले अब पुनर्गठन गरेर जानुपर्ने र त्यसका लागि अर्ली महाधिवेशन गर्न पनि प्रस्ताव गरिन् ।

    ‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो’, उनले भनेकी थिइन्, ‘कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

    उनले यदि काँधमा मरेको सिनो हालेर हिँडिरहने हो भने पार्टी धेरै छिटो विघटन हुने बताइन् । ‘काँधमा मरेको सिनो हालेर हिँड्न सकिदैन, नत्र यो पार्टी धेरै छिटो विघटन हुन्छ’, उनले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपालतिर लक्षित गर्दै भनिन्, ‘यही नाममा यो जञ्जालभित्र हाल्ने हो भने हामीले यो दु:ख पनि नगरौँ । यस्तै संकटहरूबाट हामी उठनुपर्छ तपाईं-हामी सबैलाई थाहा छ । अध्यक्षकैबारे संकट आएको छ । अब के गर्ने त हामीले, पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशन गरेर पार्टी पुनर्गठन गरौँ ।’

    उनले कानुनीसहित सबै सबै हिसाबले अध्यक्ष नेपालमाथि समस्या आएको बताइन् । ‘अब काँधमाथि सिनो हालेर हिँड्ने हो भने हामी अघि बढ्न सक्दैनौँ’, उनले भनिन्, ‘अर्ली महाधिवेशन गरौँ । हलबाट नेतृत्व छानौँ, तपाईंहरूमध्ये जो पनि नेतृत्व आउनु हुन्छ । टीका लगाएर केन्द्रीय समितिमा पुगेकाहरूबाट पार्टी बन्न सक्दैन ।’

    अध्यक्ष नेपाल पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत् आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

    विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार भएको थुनछेक बहसपछि नेपाललाई धरौटीमा छाड्ने आदेश दिएका थिए । त्यसपछि बसेको समाजवादीको बैठकले भ्रष्टाचार मुद्दा लागे पनि नेपालले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको थियो ।

    प्रतिक्रिया

    उनको यो कडा भनाइलाई लिएर एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले जवाफ फर्काएका छन् । अध्यक्ष नेपालको बचाउ गर्दै उनले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।

    ‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरप्रस्ट भएछ’, उनले भनेका छन्, ‘हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक सञ्जाल प्रयोग गरेर, कहिले नक्कली स्टण्डबाजी गरेर उदय भएको हो ।’

    पराजुलीले झाँक्रीलाई कटाक्ष गर्दै पदका लागि जस्तोसुकै सम्झौता गरेको आरोप पनि लगाएका छन् । ‘कहिले पदका लागि जस्तोसुकै सम्झौता गरेर प्राप्ति, कहिले पद हस्तान्तरण गर्नुपर्दा रुवावासी । यो मानसिकताको विशेष गुण हो । यस्तो मानसिकता विश्वास गरेर हामी मुर्ख नबनौँ’, अध्यक्ष नेपालनिकट पराजुलीले रामकुमारीबारे भनेका छन् । – खबरहव



    lumbinisanjal   
  • २०८२ असार १५, आईतवार १२:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP