• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    देशभर फैलियो मनसुन, आज यी प्रदेशमा भारी वर्षा

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३०, शुक्रबार ०७:१३
    4.7K
    SHARES
    देशभर फैलियो मनसुन, आज यी प्रदेशमा भारी वर्षा

    काठमाडौं,३० जेठ । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन सक्रिय बन्दै जाँदा देशको मौसममा दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुनले देशको पूर्वी र मध्य भागलाई ढाकेको छ भने पश्चिमी क्षेत्रमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै छ, जसले गर्दा मौसम बदली र वर्षाको क्रम जारी रहनेछ।

    मौसमविद्हरूले विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

    विभागका अनुसार, आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी तीन प्रदेशका केही निश्चित स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। देशका अन्य भूभागका थोरै स्थानमा पनि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आज राति पनि मौसमको यो प्रवृत्ति कायम रहनेछ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। राति पनि कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने विभागले जनाएको छ।
    साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।

    भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। “कोशी, बागमती र गण्डकी प्रदेशमा अपेक्षित भारी वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, तथा सडक र हवाई यातायातमा समेत प्रभाव पार्न सक्छ,” महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका ठाउँहरूमा बस्ने बासिन्दाले थप सावधानी अपनाउनु जरुरी छ।”



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३०, शुक्रबार ०७:१३
  • #मौसम जेठ ३० गते

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP