• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    राजस्व चुहावट कसुरमा बुटवलका २ जना व्यवसायी बिरुद्ध मुद्दा दर्ता

    • lumbinisanjal
    • २०८२ जेष्ठ १, बिहीबार २१:२४
    4.3K
    SHARES
    राजस्व चुहावट कसुरमा बुटवलका २ जना व्यवसायी बिरुद्ध मुद्दा दर्ता

    बुटवल, १ जेठ । राजस्व अनुसन्धान कार्यालय बुटवलले प्रतिष्ठित दुईजना व्यवसायी माथि कर छलीको आरोपमा मुद्दा दायर गरेको छ ।

    साना गाडीका महँगा पार्टसको तस्करी गरी राजस्व छली गरेको आरोपमा तिलोत्तमा ४, शुभलक्ष्मी पथका ४८ वर्षीय जगन्नाथ खनाल र तिलोत्तमा ४, नयाँ मिलका ५४ वर्षीय दधिराम खरेल विरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

    उनीहरू सञ्चालक रहेको शुभलक्ष्मी अटो लिङ्क प्रालिबाट गाडीका महँगा पार्टसहरु राजस्व छली गरेर ल्याउने र बिक्री वितरण गर्ने गरेको र साना गाडीका महँगा पार्टसको तस्करीको आरोपमा राजस्व अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको हो । विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बिहीबार मुद्दा दायर भएको उल्लेख छ ।

    खनाल र खरेलविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहितको दफा २०९६० बमोजिम मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । तिलोत्तमा ४, शुभलक्ष्मी पथका ४८ वर्षीय जगन्नाथ खनाल र तिलोत्तमा ४, नयाँ मिलका ५४ वर्षीय दधिराम खरेलले सञ्चालन गरेको वर्कसप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद खाता, विक्री खातालगायत अन्य आवश्यक कागजातहरू तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरे बमोजिमको परिमाण भन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको तथा केही मालवस्तुको परिमाण मौज्दात किताबभन्दा कम देखिएको तथ्य कार्यालयले दर्ता गरेको मुद्दामा उल्लेख छ ।

    त्यसैगरी प्रतिवादीहरूले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेश गरेको मौज्दात विवरणभन्दा अधिक मालवस्तु गोदामबाट फेला पर्नु, बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजसँग नहुनु तथा कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट कसुर गरेको पुष्टि भएकोले ७२ लाख ११ हजार तीनसय रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना गरी एक करोड ४४ लाख २२ हजार ६०० असुल उपर गरी हदैसम्मको कैद सजायको मागदाबी गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको राजश्व कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिए ।

    खरेल मुलुककै ठूलो बस व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष हुन् । यो प्रालि साबिकको पश्चिम नेपाल बस व्यवसायी संघ थियो । उनले लामो समयदेखि यहाँको नेतृत्व गर्दै आएका छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १, बिहीबार २१:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP