• २०८३ कार्तिक ८ | Sat, 24 Oct 2026
  • Dark Mode

          Subscribe

    प्रदेशमा शरीर, मन भने मातृभूमिमै

    • lumbinisanjal
    • २०८३ आश्विन ११, आईतवार १३:५८
    455
    SHARES
    प्रदेशमा शरीर, मन भने मातृभूमिमै

    यमुना थारु । आजकाल बिहानको सुरुवात नै प्रदेशको एउटा सानो कोठामा आँखा खुल्नेबित्तिकै सामाजिक सञ्जाल खोल्ने बानीबाट हुन्छ। मोबाइलमा सामाजिक सञ्जाल खोल्दा कहिलेकाहीँ पुरानो घाउ फेरि बल्झिएझैँ लाग्छ। तर, धन्य छ यो सामाजिक सञ्जाल, जसले हामी प्रदेशीलाई हजारौँ किलोमिटर टाढा भए पनि आफ्नो घर, गाउँ र मातृभूमिसँग जोडिराखेको छ।

    सानो कोठामा बसेर पनि विश्वभर के–कस्ता घटना भइरहेका छन् भन्ने थाहा पाउन सकिन्छ। कहिले खुसीका खबरले मन रमाउँछ, कहिले आफ्नै गाउँठाउँमा परेको विपत्तिको खबरले मन सिरिङ्ग हुन्छ।

    आज पनि सामाजिक सञ्जाल खोल्दा मन सिरिङ्ग भयो। भाद्र महिनामा कोशी उर्लिँदा मेरी मातृभूमि कसरी रोएकी थिइन्, त्यो पीडा हामीले यही सामाजिक सञ्जालमार्फत देखेका थियौँ। हजारौँ घर डुबानमा परेका थिए। बस्तीहरू जलमग्न थिए। मानिसहरू रातभर त्रासमा जाग्राम बसेका थिए। त्यो कहालीलाग्दो दृश्य अझै आँखाबाट हटेको छैन।

    अनि आज फेरि उस्तै खबरहरू आइरहेका छन्—ठूलो पानी परिरहेको छ, खोला बढिरहेका छन्, बस्तीहरू जोखिममा छन्, पहिरोको त्रास छ। समाचारका यस्ता शब्द पढ्दै गर्दा मन फेरि आफ्नै गाउँको आँगनमा पुग्छ।

    सोचौँ त, यो सामाजिक सञ्जाल नभएको भए हामी प्रदेशीलाई घरको खबर कसले दिन्थ्यो? गाउँमा के भइरहेको छ, आमा–बुबा सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न, घरमा पानी पस्यो कि पस्ने अवस्थामा छ—यी सबै कुरा थाहा पाउने माध्यम नै यही बनेको छ।

    हरेक प्रदेशीको बानी नै यही हो—बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिले घरको खबर हेर्ने।

    आमा रोइरहेकी छन्, खोला किनारका बस्तीहरू त्रासमा रातभर जाग्राम बसेका छन् भन्ने समाचार पढ्दा मनमा एउटै प्रश्न आउँछ—हामी यहाँ बसेर के गर्न सक्छौँ?

    हामी हजारौँ किलोमिटर टाढा छौँ। परिवारका लागि भनेर घामपानी नभनी पसिना बगाइरहेका छौँ। दुःख गरेर कमाएको पैसाले घर बनाएका छौँ, परिवारको भविष्यका लागि सपना बुनेका छौँ। तर, उता त्यही पसिनाले जोडेको घर, त्यही सपनाले बनाएको सानो संसार पानीले बगाउन लाग्दा यो कमाइको के अर्थ?

    रातभर पानी परिरहेको छ रे। पहिरोको जोखिम छ रे। खोला बढिरहेको छ रे। यस्ता खबर सुन्दा यहाँ आँखामा निन्द्रा नै लाग्दैन।

    फोन गरेर आमालाई सोध्छौँ—‘सबै ठीक छ?’

    उहाँको जवाफ आउँछ—‘ठीकै छ बाबु।’

    तर त्यो ‘ठीकै छ’भित्र कति ठूलो डर लुकेको छ, त्यो प्रदेशीलाई मात्र थाहा हुन्छ।

    आफ्नो गाउँ डुबानमा परेको, आफ्नो घर जोखिममा परेको टुलुटुलु हेर्नु र केही गर्न नसक्नु—सायद प्रदेशी जीवनको सबैभन्दा ठूलो पीडा यही हो।

    हामी यहाँ शरीरले प्रदेशमा छौँ, तर मन भने त्यही गाउँको आँगनमा छ। आमाको अनुहारमा छ। बाल्यकाल बिताएको घरको छानोमा छ। खोलाको किनारमा छ। आफ्नै माटोमा छ।

    प्रदेशमा शरीर भए पनि मन त सधैँ मातृभूमिमै हुन्छ।



    lumbinisanjal   
  • २०८३ आश्विन ११, आईतवार १३:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP