• २०८३ कार्तिक २८ | Fri, 13 Nov 2026
  • Dark Mode

          Subscribe

    समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थालाई आग्रह

    • lumbinisanjal
    • २०८३ आश्विन ११, आईतवार १३:३३
    598
    SHARES
    समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थालाई आग्रह

    डिलाराम भुसाल / कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले गैरसरकारी संस्थाहरूले प्रचारमुखी भन्दा समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

    जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम तौलिहवामा सम्पन्न भएको हो। कार्यक्रममा ३० भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा सहभागी संस्थाहरूले आ–आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्थानीय तह तथा विषयगत सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले कुनै कार्यक्रम सञ्चालन गर्नु मात्रै उपलब्धि नभई त्यसबाट समुदायमा वास्तविक परिवर्तन आयो कि आएन र लक्षित वर्गले प्रत्यक्ष लाभ पाए कि पाएनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए।

    “काम गर्नु मात्रै उपलब्धि होइन, त्यस कार्यक्रमबाट समुदायमा वास्तविक परिवर्तन आयो कि आएन र लक्षित वर्गले प्रत्यक्ष लाभ पाए कि पाएनन् भन्ने मुख्य कुरा हो,” उनले भने। उनले जिल्लाको वास्तविक आवश्यकता र प्राथमिकता पहिचान गरी स्थानीय तहसँग पूर्ण समन्वयमा कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरे।

    कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले शिक्षा, स्वास्थ्य तथा नागरिकको जीवनस्तर सुधारमा गैरसरकारी क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा गर्दै केवल तालिम र गोष्ठीमा बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। उनले संस्थागत सुशासन, स्पष्ट मानव संसाधन नीति र प्रचलित कानुनको पूर्ण पालना गर्दै नागरिकमा कर्तव्यबोध गराउने प्रकृतिका कार्यक्रम सञ्चालन गर्न संस्थाहरूलाई आग्रह गरे।

    गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले समन्वयको अभावमा जिल्लामा क्रियाशील सबै संस्थालाई एउटै छातामुनि गोलबद्ध गर्न चुनौती रहेको बताए। आगामी दिनमा स्थानीय तहसँग समन्वय बढाउँदै कार्यक्रमलाई थप प्रभावकारी बनाएर अघि बढ्ने उनले बताए।

    यस्तै, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख माधव बन्जाडे, कृषि ज्ञान केन्द्रका सत्यराम हरिजन र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत मधु चौधरीले एकीकृत समन्वयबाट मात्रै परिणाममुखी नतिजा हासिल गर्न सकिने धारणा राखे।
    नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले दूरदराजका समुदाय तथा ओझेलमा परेका क्षेत्रमा गैरसरकारी संस्थाहरूले गरेका सकारात्मक काम र उपलब्धिलाई सञ्चारमाध्यममार्फत पारदर्शी रूपमा बाहिर ल्याउनुपर्नेमा जोड दिए।

    वार्षिक समीक्षा बैठकमा कालिका स्वावलम्बन सामाजिक केन्द्र, किड्स, दलित सामाजिक विकास केन्द्र, लुम्बिनी अपाङ्गता विकास केन्द्र, किर्डाक नेपाल, सिद्धार्थ सामाजिक विकास केन्द्र, साथी संस्था, दलित महिला संघ, माहुरी होम, शान्ति पुनःस्थापना गृह, आफन्त नेपाल, पिस नेपाल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल र नवजीवनलगायतका दर्जनभन्दा बढी संस्थाले शिक्षा, स्वास्थ्य, कृषि, पोषण, मानव बेचबिखनविरुद्धको अभियान तथा यौनिक एवं लैङ्गिक अल्पसङ्ख्यकका क्षेत्रमा हासिल गरेका उपलब्धि, चुनौती र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।



    lumbinisanjal   
  • २०८३ आश्विन ११, आईतवार १३:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP