• २०८३ आश्विन १९ | Mon, 05 Oct 2026
  • Dark Mode

          Subscribe

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    • lumbinisanjal
    • २०८३ भाद्र १५, सोमबार १७:३३
    429
    SHARES
    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
    बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ सहयोग गरेको हो।

    हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। विपद्का कारण हजारौँ नागरिकको जनजीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ।

    विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने मानवीय अभियानमा ऐक्यबद्धता जनाउन आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।

    बैंकले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, विपद्मा परी हालसम्म सम्पर्कविहीन नागरिकहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    बैंकले विपद्को समयमा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

     



    lumbinisanjal   
  • २०८३ भाद्र १५, सोमबार १७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP