• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

    • lumbinisanjal
    • २०८३ श्रावण २७, बुधबार १३:२२
    299
    SHARES
    बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

    बुटवल  । नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको सोमबार बुटवलमा सम्पन्न ११औँ पूर्ण बैठकले आगामी असोज १२ देखि १७ गतेसम्म बुटवल मण्डपमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

    प्रतियोगितामा नेपालका तीन टोलीसहित भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीलाई सहभागी गराउने तयारी भइरहेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।

    ‘नेपालमै पहिलोपटक यो स्तरको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो,’ अध्यक्ष आचार्यले भने, ‘यसअघि सम्पन्न इन्डो–नेपाल भलिबल प्रतियोगितालाई थप परिमार्जन गर्दै यसपटक अन्तर्राष्ट्रिय स्वरूपमा आयोजना गर्न लागेका हौँ।’

    प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख ७५ हजार तथा सान्त्वना टोलीले ७५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    त्यसैगरी प्रतियोगितामा प्लेयर अफ द म्याचलाई १ लाख रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, कोच, ब्लकर र डिफेन्सतर्फ उत्कृष्ट हुनेलाई जनही ८ हजार रुपैयाँसहित कप र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।

    प्रतियोगितामा करिब १२८ खेलाडी र १५० जना अफिसियल सहभागी हुने अनुमान गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।
    प्रदेश संरचना सक्रिय बनाउने निर्णय बैठकले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको प्रदेश संरचनालाई थप प्रभावकारी र सक्रिय बनाउने निर्णयसमेत गरेको छ। अध्यक्ष आचार्यका अनुसार एक साताभित्र प्रदेशस्तरमा कार्यालय स्थापना गरी गतिविधिलाई व्यवस्थित गरिनेछ।

    बैठकले केन्द्रीय कमिटीमा समेत जिम्मेवारी हेरफेर गरेको छ। वरिष्ठ उपाध्यक्षमा मोहन रेग्मी, उपाध्यक्षमा झकबहादुर मिदुन, महासचिवमा मदन उप्रेती, उपमहासचिवमा चन्द्र बदना राई र रामबहादुर केसी तथा सचिवमा उदय अर्याल, निलम बज्राचार्य, विनोद आचार्य र नन्दु काउचालाई जिम्मेवारी दिइएको छ। कोषाध्यक्षमा कमल ढकाल रहेका छन्।

    केन्द्रीय सदस्यमा रुपन्देहीकी सिरिशा कार्की, सुदूरपश्चिमका अमरावती राना, राजीव राना र शिवराज राना, गण्डकीका ऋषिराम गौतम र अनन्त श्रेष्ठ तथा मधेश प्रदेशका राजेश महतोलाई जिम्मेवारी दिइएको अध्यक्ष आचार्यले बताए।

    प्रदेशतर्फ कोशी संयोजकमा उदयकुमार अर्याल, मधेश प्रदेश अध्यक्षमा रविन्द्रराज भण्डारी, बागमती प्रदेशमा रामबहादुर केसी, लुम्बिनी प्रदेश संयोजकमा बुद्धि बस्याल, गण्डकी प्रदेश अध्यक्षमा गिरमान गुरुङ, कर्णाली प्रदेश अध्यक्षमा गोपालबहादुर शाही र सुदूरपश्चिम प्रदेश संयोजकमा ज्ञानुराज दगौरालाई जिम्मेवारी तोकिएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण २७, बुधबार १३:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP