• २०८३ असार २१ | Sun, 05 Jul 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट अध्यक्ष कपमा हाडहाडेको दबदबा, पुरुष र महिला दुवै तर्फ च्याम्पियन

    • lumbinisanjal
    • २०८३ असार २१, आईतवार ०९:०६
    78
    SHARES
    धुर्कोट अध्यक्ष कपमा हाडहाडेको दबदबा, पुरुष र महिला दुवै तर्फ च्याम्पियन

    बासुदेव पोखरेल / गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न अन्तर वडा स्तरीय छैटौँ अध्यक्ष कप भलिबल प्रतियोगितामा हाडहाडेले पुरुष तथा महिला दुवै तर्फको उपाधि जित्दै दोहोरो सफलता हासिल गरेको छ।

    शुक्रबारदेखि धुर्कोट गाउँपालिका वडा नम्बर ४ स्थित कालापोखरा खेलमैदानमा सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

    धुर्कोट गाउँपालिकाका ७ वडामध्ये ६ वडाको सहभागिता रहेको प्रतियोगितामा स्थानीय खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए।

    प्रतियोगिताको पुरुषतर्फ हाडहाडे प्रथम, धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारा द्वितीय तथा वडा नम्बर ७ वाग्ला तृतीय भएका छन्। त्यस्तै महिलातर्फ पनि हाडहाडे प्रथम बनेको छ भने वडा नम्बर ७ वाग्ला द्वितीय र वडा नम्बर ४ जैसीथोक तृतीय भएका छन् ।

    पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः नगद रु. ३० हजार, रु. २५ हजार र रु. २० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः नगद रु. १५ हजार, रु. १२ हजार र रु. १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    समापन समारोहलाई सम्बोधन गर्दै धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धी भावना विकास गर्ने बताउनुभयो। उहाँले गाउँपालिकाका ७ वडामध्ये ६ वडाको सहभागिताले प्रतियोगितालाई थप प्रभावकारी र उत्साहजनक बनाएको उल्लेख गर्दै आगामी दिनमा खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले थप लगानी गर्ने बताउनुभयो ।

    “गाउँपालिकाभित्र रहेका प्रतिभावान खेलाडीहरूको पहिचान, संरक्षण र प्रोत्साहनका लागि यस्ता प्रतियोगिता आवश्यक छन्,” अध्यक्ष पोखरेलले भन्नुभयो, “खेल क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहनेछ ।

    धुर्कोट गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले अध्यक्ष कप प्रतियोगिताले वडाहरूबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गर्नुका साथै खेलकुदप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा स्थानीय जनप्रतिनिधि, कर्मचारी, विभिन्न वडाका खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताको समापनसँगै विजेता तथा उपविजेता टोलीलाई नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।



    lumbinisanjal   
  • २०८३ असार २१, आईतवार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP