• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कानुनी रूपमा सञ्चालित कन्सल्टेन्सीलाई प्रहरीको साथ रहन्छ : एसपी शाही

    • lumbinisanjal
    • २०८३ जेष्ठ १२, मंगलवार १६:०७
    559
    SHARES
    कानुनी रूपमा सञ्चालित कन्सल्टेन्सीलाई प्रहरीको साथ रहन्छ : एसपी शाही

    बुटवल, १२ जेठ । नेपाल शैक्षिक परामर्श संघले लुम्बिनी प्रदेश परामर्श संवाद २०८३ सम्पन्न गरेको छ । शैक्षिक परामर्श क्षेत्रको व्यावसायिकता र कानुनी अवस्थाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख जनक बहादुर शाहीले सही प्रक्रिया पूरा गरी सञ्चालन भएका कन्सल्टेन्सीलाई प्रहरीले पूर्ण साथ दिने बताउनुभयो ।

    उहाँले कानुनसम्मत रूपमा सञ्चालन भएका व्यवसायलाई प्रहरीले कहिल्यै हतोत्साहित नगर्ने स्पष्ट पार्दै मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता–नवीकरण नगरी र बिना अनुमति शैक्षिक परामर्श, भाषा शिक्षण तथा पूर्वतयारी कक्षा सञ्चालन गर्ने संस्थामाथि उजुरी आएपछि कारबाही अघि बढाइएको जानकारी दिनुभयो ।

    कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष लक्ष्मण पौडेलले अवैध कन्सल्टेन्सीमाथि कारबाही भइरहँदा कानुनअनुसार सञ्चालन भइरहेका संस्थामाथि समेत नकारात्मक आक्षेप लाग्ने गरेको गुनासो गर्नुभयो । उहाँले मापदण्ड पूरा गरेका संस्थालाई ढुक्क भएर सञ्चालन गर्न आग्रह गर्नुभयो ।

    निवर्तमान केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले गलत मनसायबाट सञ्चालित कन्सल्टेन्सीमाथि कडा कारबाही गर्नुपर्ने बताउँदै इक्यानका सदस्य र अवैध रूपमा सञ्चालन भएका संस्थालाई एउटै दृष्टिकोणबाट नहेर्न आग्रह गर्नुभयो । सरकारले समयमै शिक्षा नियमावली नल्याउँदा व्यवसायीले विभिन्न कानुनी जटिलता भोग्नुपरेको उहाँको भनाइ थियो ।

    इक्यान रुपन्देही अध्यक्ष गोविन्द बस्नेतले सरकारले समयमै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी कार्यविधिको अनुमति प्रक्रिया अघि नबढाउँदा धेरै व्यवसायी दर्ताबाट वञ्चित भएको बताउनुभयो । उहाँले गलत उद्देश्यले सञ्चालन नभएका व्यवसायीको संरक्षणका लागि इक्यान रुपन्देही प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा बासुदेव दाहाल, भवानाथ हुमागाई, गोविन्द खनाल, गिरिराज पाण्डे तथा देवबहादुर कुँवर लगायतले लुम्बिनी प्रदेश सरकारले पनि शैक्षिक परामर्श व्यवसाय सञ्चालन अनुमति खुलाउन माग गरेका थिए ।

    कार्यक्रमको सञ्चालन सचिव उपेन्द्र यादव र दिपेश अर्यालले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ १२, मंगलवार १६:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP