• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    कश्यप गोत्रीय पाण्डे बन्धुत्वको कुल पूजा: परम्परा, आस्था र एकताको प्रतीक

    • lumbinisanjal
    • २०८३ बैशाख १२, शनिबार १०:३९
    5.4K
    SHARES
    कश्यप गोत्रीय पाण्डे बन्धुत्वको कुल पूजा: परम्परा, आस्था र एकताको प्रतीक

    भानुभक्त पाण्डे / वस्तु, १२ बैशाख।
    कश्यप गोत्रीय पाण्डे बन्धुत्वको गौरवशाली परम्परा, आस्था र एकताको प्रतीकका रूपमा प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको कुल पूजा यस वर्ष पनि विशेष श्रद्धा र भव्यताका साथ आज सम्पन्न हुँदैछ।

    गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–५, वस्तु (सप्लिङ) लाई मूल थलो मानिँदै आएको यस पवित्र स्थलसँगै रुपन्देहीको कोटिहवामा पनि आजै कुल पूजा आयोजना गरिएको छ। यसले बन्धुत्वबीचको आपसी सम्बन्ध र एकताको भावना अझ सुदृढ बनाएको छ।

    कुल पूजाका क्रममा कश्यप ऋषिको स्मरण तथा आराधना गरिनुका साथै बराह देवताको विशेष पूजा गरिन्छ। परम्परागत विधिअनुसार धामी काम्ने, देवता सोध्ने तथा पूजा–अर्चना गर्ने चलन रहेको छ, जसले कुलको रक्षा र समृद्धिको कामना गर्दछ। यस अवसरमा भेडा काटी बली दिने परम्परा पनि रहिआएको छ, जुन सांस्कृतिक आस्था र परम्परासँग जोडिएको महत्वपूर्ण पक्ष हो।

    साथै, खीर र पिठो प्रसादका रूपमा तयार गरी सबैलाई वितरण गर्ने तथा घर–घरमा पुर्‍याउने प्रचलन पनि छ। धारपूजा वा ‘गौर जाने’ परम्परा प्रत्येक चार–चार महिनामा, विशेषगरी वैशाख, श्रावण र मंसिर महिनामा गरिँदै आएको छ, जसमा सबै दाजुभाइको सहभागिता रहने गर्दछ।

    कुल पूजामा सहभागी हुने दाजुभाइहरूले सेतो पहिरन धारण गर्नु यसको अर्को विशेषता हो, जसले पवित्रता, एकरूपता र अनुशासनको सन्देश दिन्छ। टाढा–टाढाबाट आएका आफन्तजन तथा कुल सदस्यहरूको उपस्थितिले कार्यक्रमलाई अझ उल्लासमय बनाएको छ। यस प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले हाम्रो पहिचान, इतिहास र संस्कारको संरक्षण गर्नुका साथै भावी पुस्तालाई आफ्नो मूल र परम्पराप्रति सचेत गराउने महत्वपूर्ण भूमिका खेल्दछन्। कश्यप गोत्रीय पाण्डे बन्धुत्वको यो एकता र आस्था सधैभरी कायम रहोस ।



    lumbinisanjal   
  • २०८३ बैशाख १२, शनिबार १०:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP