• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    इम्प्लान्ट लगाएपछि घर फर्किँदै गर्दा सुत्केरीको मृत्यु, कारणबारे अनुसन्धान सुरु

    • lumbinisanjal
    • २०८३ बैशाख १०, बिहीबार ०८:०१
    1.4K
    SHARES
    इम्प्लान्ट लगाएपछि घर फर्किँदै गर्दा सुत्केरीको मृत्यु, कारणबारे अनुसन्धान सुरु

    पाल्पा, १० वैशाख । तिनाउ गाउँपालिका–२ स्थित दोभान स्वास्थ्य चौकीमा गर्भनिरोधक अस्थायी साधन ‘इम्प्लान्ट’ लगाएपछि घर फर्किँदै गरेकी ४० दिनकी सुत्केरी महिलाको बाटोमै मृत्यु भएको छ।
    तिनाउ गाउँपालिका–६, मस्याम मधुवन घर भई हाल तिनाउ–३ टोकल्दी माइतीमा बस्दै आएकी ३२ वर्षीया चमेली सारु (मनिला) बसमै एक्कासि बेहोस भएपछि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

    परिवारका अनुसार सोमबार दोभान स्वास्थ्य चौकीमा इम्प्लान्ट लगाएर सार्वजनिक बसमार्फत फर्किँदै गर्दा सिद्धार्थ राजमार्ग अन्तर्गत झुम्सा–आमबोट क्षेत्र नजिकै आइपुग्दा उनी अचानक बेहोस भएकी थिइन्। ससुरा मानबहादुर सारुले बसबाट ओरालेर स्थानीय र स्वास्थ्यकर्मीको सहयोगमा प्राथमिक उपचार गरिए पनि अवस्था सुधार नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको बताए।

    अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेपछि घटनाबारे परिवारले गम्भीर प्रश्न उठाएको छ। “मेरी बुहारीको मृत्यु के कारणले भयो, यसको निष्पक्ष छानबिन गरियोस्,” भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गरिएको छ। मृतक सारुको बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ। वडा सदस्य टंक बस्यालका अनुसार पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ।

    उता, दोभान स्वास्थ्य चौकीका प्रमुख ठाकुर कुँवरले अनुभवी स्वास्थ्यकर्मीबाट सबै प्रोटोकल पूरा गरेर इम्प्लान्ट लगाइएको दाबी गर्दै स्वास्थ्यकर्मीको लापरबाही नभएको बताए। उनका अनुसार इम्प्लान्टले हर्मोन स्राव गरी ३ देखि ५ वर्षसम्म गर्भनिरोध गर्ने प्रभावकारी विधि हो।

    तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले पनि इम्प्लान्टका कारण मात्र यस्तो घटना हुन नहुने उल्लेख गर्दै महिलामा अन्य कुनै स्वास्थ्य समस्या भएको हुन सक्ने बताए। “हाल नै मृत्युको ठोस कारण यकिन गर्न सकिएको छैन, अनुसन्धानपछि मात्र स्पष्ट हुन्छ,” उनले भने।

    घटनाले स्थानीय तहमा स्वास्थ्य सेवा, सुरक्षा र निगरानीबारे प्रश्न उठाएको छ भने वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायको छानबिन सुरु भएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख १०, बिहीबार ०८:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP