• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बजेट रोकिँदा टेलिभिजन संकटमा, लुम्बिनी प्रसारक संघको सरकारलाई ध्यानाकर्षण

    • lumbinisanjal
    • २०८२ चैत्र २६, बिहीबार १३:५५
    741
    SHARES
    बजेट रोकिँदा टेलिभिजन संकटमा, लुम्बिनी प्रसारक संघको सरकारलाई ध्यानाकर्षण

    दाङ, २६ चैत । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। संघले मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि छुट्याइएको बजेट अनुसार सूचीकृत टेलिभिजनहरूमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण अझै सुरु नभएको गुनासो गरेको हो।

    संघका अध्यक्ष गोपाल ज्ञवालीले प्रदेशमा प्रसारण कार्यालय स्थापना गरी सञ्चालनमा रहेका टेलिभिजनहरूको संरक्षण र प्रवर्द्धनका लागि तत्काल कार्यक्रम कार्यान्वयन आवश्यक रहेको बताए। उनले प्रदेश सरकारले दिने विज्ञापन अनुदानअन्तर्गत टेलिभिजन कार्यक्रमका लागि हालसम्म कुनै सम्झौता नभएको उल्लेख गर्दै तत्काल सम्झौता गरी प्रसारण सुनिश्चित गर्न माग गरे।

    त्यसैगरी, प्रदेश सभा तथा विभिन्न मन्त्रालयहरूले दर्ता भएका टेलिभिजनलाई बेवास्ता गर्दै आफैं कार्यक्रम सञ्चालन गरिरहेको भन्दै संघले त्यस्ता गतिविधि रोक्न र आधिकारिक टेलिभिजनमार्फत मात्र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

    संघले यसअघि लुम्बिनी प्रदेश सरकारले गठन गरेको यमबहादुर गाहा (मिलन) नेतृत्वको प्रतिवेदन कार्यान्वयन नभएकोप्रति पनि गम्भीर चासो व्यक्त गर्दै उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले संघको ध्यानाकर्षणप्रति सरकार गम्भीर रहेको बताउँदै देखिएका समस्याहरू समाधान गर्न आवश्यक पहल गरिने आश्वासन दिए। उक्त भेटमा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतम, राष्ट्रिय टेलिभिजन प्रसारक संघका पूर्व अध्यक्ष नरेश केसी, सहसचिव नवीन घिमिरे लगायतको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ चैत्र २६, बिहीबार १३:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP