• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    बुटवल हस्पिटलमा लेजर प्रविधिबाट पायल्स उपचार सुरु

    • lumbinisanjal
    • २०८२ श्रावण ४, आईतवार १२:३६
    6.2K
    SHARES
    बुटवल हस्पिटलमा लेजर प्रविधिबाट पायल्स उपचार सुरु

    बुटवल ,४ साउन । बुटवल हस्पिटल प्रालिले लेजर प्रविधिबाट पायल्सको उपचार सेवा सुरु गरेको छ।

    नयाँ प्रविधि भित्रिएसँगै अब बिना चिरफार पायल्ससहित विभिन्न रोगको उपचार गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले जानकारी दिनुभयो।

    लेजर प्रविधिबाट विशेषगरी पायल्स, फिस्टुला, फिसर, पाइलोनाइडल साइनस र खुट्टाको भेरिकोज भेनको उपचार सम्भव भएको हो। उपचारमा संलग्न विशेषज्ञ डा. बिर्खराज जोशीका अनुसार लेजर मेसिनबाट उपचार गर्दा बिरामीको अस्पताल बसाइ छोटो हुने, रक्तस्राव र पीडा न्यून हुने भएकाले यस प्रविधिप्रति आकर्षण बढ्दै गएको छ।

    “उपचारपछि दुई–तीन दिनमै बिरामी सामान्य अवस्थामा फर्किने भएकाले यसको माग पनि दिनप्रतिदिन बढिरहेको छ,” डा. जोशीले बताउनुभयो।

    खानपान र जीवनशैलीको कारण पायल्स तथा भेरिकोज भेनका बिरामीहरू बढिरहेको सन्दर्भमा लेजर प्रविधिबाट उपचार सहज भएको अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताउनुभयो। उहाँका अनुसार समयसापेक्ष प्रविधि आवश्यक परेकाले अस्पतालले उपकरणहरू परिष्कृत गर्दै सेवा विस्तार गरिरहेको छ।

    सूचना प्रविधिको वर्तमान युगमा शरीरका विभिन्न अंगहरूमा लेजर प्रविधिबाट शल्यक्रिया गर्ने चलन बढ्दो छ। विशेष प्रकारको प्रकाश प्रयोग गरी सो अंगमा विकिरणमार्फत शल्यक्रिया गरिने यस प्रविधिको प्रयोग हाल आँखा, नाक, कान, घाँटी, मृगौला, ब्रेन ट्युमर, पाठेघर आदि अंगको उपचार हुँदै आएको छ।

    बुटवल–६ चाँदवारीचोक नजिकै रहेको आफ्नै भवनबाट सेवा दिँदै आएको बुटवल अस्पताल प्रालिले अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र स्तरीय पूर्वाधारमार्फत सेवा उपलब्ध गराइरहेको छ। अस्पतालले यसले गर्दा बुटवल बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने दाबी गरेको छ।



    lumbinisanjal   
  • २०८२ श्रावण ४, आईतवार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP