• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३४औँ वार्षिकोत्सव “डिजिटल भविष्यतर्फ अघि बढ्दै क्याम्पस”

    • lumbinisanjal
    • २०८२ चैत्र २३, सोमबार १६:०८
    7.8K
    SHARES
    सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३४औँ वार्षिकोत्सव “डिजिटल भविष्यतर्फ अघि बढ्दै क्याम्पस”

    बुटवल, २३ चैत । सिद्धार्थ गौतम बुद्ध क्याम्पसले आफ्नो ३४औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। खेलकुद प्रतियोगिता, उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान, शुभकामना आदानप्रदान लगायत विविध कार्यक्रमका बीच सोमबार वार्षिकोत्सव सम्पन्न भएको हो।

    कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले क्याम्पस स्थापना कालको स्मरण गर्दै शैक्षिक व्यक्तित्वहरूको अगुवाइमा समुदायस्तरबाट स्थापना भएको यस क्याम्पसले शिक्षा, संस्कार, खेलकुद र व्यवहारिक ज्ञानलाई सँगसँगै अघि बढाएको बताए। उनले स्थानीय तहले शिक्षा क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गरिरहेको उल्लेख गर्दै शैक्षिक संस्थाको विकासमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए।

    क्याम्पस प्रमुख गोपाल चापागाईंले क्याम्पसलाई आधुनिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस कदम चालिएको जानकारी दिए। उनले क्याम्पसलाई पेपरलेस प्रणालीमा लैजाने अभियान तीव्र पारिएको बताउँदै अब विद्यार्थीको हाजिरी अनलाइन प्रणालीबाट हुने र भर्ना फारामसमेत वेबसाइटमार्फत भर्न सकिने व्यवस्था गर्न लागिएको बताए। प्रमुख चापागाईं भन्छन , “हामी गुणस्तरीय शिक्षासँगै प्रविधिमैत्री क्याम्पस निर्माणमा केन्द्रित छौं, अब हाम्रो लक्ष्य पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्नु हो।”

    वार्षिकोत्सवको अवसरमा अवकाश प्राप्त प्राध्यापक रमेशचन्द्र पाण्डे र कर्मचारी सत्यनारायण चौधरीलाई दोसल्ला तथा कदरपत्रसहित सम्मान गरिएको थियो। साथै, वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गर्दै वातावरणलाई अझ जीवन्त बनाएका थिए।

    वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले शिक्षा र खेलकुद दुवै क्षेत्रमा क्याम्पसले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकौल ,सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद खनाल, रामनाथ उपाध्याय,पब्लिक प्राध्यापक संघका सभापती श्रीवास्तव नेपाल, खेलकुद संयोजक तिर्थराज काफ्ले लगायतले समयअनुकूल र व्यवहारिक शिक्षा प्रदान गर्न क्याम्पस सफल रहेको धारणा व्यक्त गरे।

    यस वर्ष क्याम्पसमा ७३५ जना नयाँ विद्यार्थी भर्ना भएका छन् भने कुल १,९३५ विद्यार्थी अध्ययनरत रहेका छन्। व्यवस्थापन र शिक्षा संकायअन्तर्गत कक्षा ११, १२ देखि स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन भइरहेको क्याम्पसले जनाएको छ। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले गरेका थिए ।  



    lumbinisanjal   
  • २०८२ चैत्र २३, सोमबार १६:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP