• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    भोटेकोशी बाढीपीडितका लागि यातायात व्यवसायी समितिको ५ लाख सहयोग, ११ ट्रकका चालक–परिचालक अझै बेपत्ता

    • lumbinisanjal
    • २०८३ भाद्र १८, बिहीबार १८:०७
    546
    SHARES
    भोटेकोशी बाढीपीडितका लागि यातायात व्यवसायी समितिको ५ लाख सहयोग, ११ ट्रकका चालक–परिचालक अझै बेपत्ता

    बुटवल । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलले ५ लाख १ हजार ४ सय ५९ रुपैयाँ सहयोग गरेको छ।

    समितिका पदाधिकारी, सदस्य तथा व्यवसायी र समितिमा गठित स्वतन्त्र कर्मचारी युनियनबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

    समितिका कार्यालय प्रमुख प्रकाश गेरैका अनुसार पदाधिकारी, सदस्य तथा व्यवसायीबाट ४ लाख ४ सय ५९ रुपैयाँ र स्वतन्त्र कर्मचारी युनियनबाट १ लाख १ हजार रुपैयाँ संकलन भएको हो। संकलित रकममध्ये ३ लाख ५० हजार ४ सय ५९ रुपैयाँ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत र १ लाख ५० हजार रुपैयाँ नेपाल ट्रक यातायात व्यवसायी महासंघमार्फत उद्धार कोषमा पठाइएको समितिका अध्यक्ष यामबहादुर जिसीले जानकारी दिनुभयो।

    रकम हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले पश्चिमाञ्चल यातायात व्यवसायी समितिले गरेको सहयोगको प्रशंसा गर्नुभयो। आफ्नै व्यवसायी तथा समुदायका सदस्यसमेत विपद्बाट प्रभावित भएको अवस्थामा राहतका लागि सहयोग गर्नु उदाहरणीय रहेको उहाँले बताउनुभयो।

    अध्यक्ष जिसीका अनुसार समितिमा आबद्ध ११ वटा ट्रकका चालक तथा परिचालकसमेत भोटेकोशी बाढीमा परी अझै बेपत्ता छन्। आफ्नै व्यवसायी तथा कर्मचारी विपद्मा परेका अवस्थामा पनि समितिले राहत सामग्री ओसारपसारका लागि दैनिक तीन वटा ट्रक निःशुल्क उपलब्ध गराउँदै आएको छ।

    विपद्को समयमा सरकारी प्रयाससँगै निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    कल्पना सप्लायर्सद्वारा १ लाख ५१ हजार सहयोग
    यसैबीच, कल्पना सप्लायर्सका प्रोप्राइटर तथा यातायात व्यवसायी टीकाराम गौतमले १ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुभएको छ।

    गौतमले उक्त रकम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत कोषमा जम्मा गर्नुभएको हो। भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको गौतमले बताउनुभयो।

    सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले विपद्को समयमा पीडित नागरिकका लागि गरिने सहयोग सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण भएको बताउनुभयो। उहाँले व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट प्राप्त यस्ता सहयोगले राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै गौतमप्रति धन्यवाद व्यक्त गर्नुभयो।



    lumbinisanjal   
  • २०८३ भाद्र १८, बिहीबार १८:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP