• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    युवाको लहरसँगै रुपन्देही–५ मा कांग्रेसको पकड बलियो बन्दै

    • lumbinisanjal
    • २०८२ फाल्गुन १२, मंगलवार २०:०५
    1.1K
    SHARES
    युवाको लहरसँगै रुपन्देही–५ मा कांग्रेसको पकड बलियो बन्दै

    बुटवल, १२ फागुन । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। यसैबीच भरत कुमार शाह ले आफ्नो अभियानलाई थप आक्रामक बनाउँदै सैनामैना नगरपालिकामा विशेष युवा केन्द्रित कार्यक्रम आयोजना गर्नुभएको छ। कार्यक्रममा जेन्जी (Gen Z) पुस्ताका दर्जनौँ युवाहरू विभिन्न दल परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    सैनामैनामा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई टीका र खादा लगाएर स्वागत गर्दै शाहले युवाशक्तिलाई परिवर्तनको निर्णायक शक्ति बताउनुभयो। “देशलाई नयाँ सोच, नवीन प्रविधि र सिर्जनशील नेतृत्व चाहिएको छ, जसको आधार युवाहरू नै हुन्,” उहाँले भन्नुभयो। लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, सुशासन र दिगो विकासका लागि युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उहाँको भनाइ थियो।

    पूर्व अर्थ राज्यमन्त्रीसमेत रहनुभएका शाहले आफ्नो कार्यकालमा आर्थिक स्थायित्व, लगानी प्रवर्द्धन र पूर्वाधार विकासमा खेलेको भूमिकाको स्मरण गर्दै रुपन्देही–५ लाई आर्थिक, शैक्षिक र सामाजिक दृष्टिले नमूना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो। विशेषगरी सैनामैनामा सडक स्तरोन्नति, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर स्पष्ट कार्ययोजना अघि सार्ने उहाँले उल्लेख गर्नुभयो ।

    कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले स्थिर नेतृत्व, अनुभव र स्पष्ट विकास दृष्टिकोणकै कारण आफूहरू कांग्रेसमा आवद्ध भएको बताएका छन्। उनीहरूले युवामैत्री नीति, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन, र डिजिटल पूर्वाधार विस्तारमा पार्टीले ठोस कार्यक्रम ल्याउने अपेक्षा व्यक्त गरे।
    यसैबीच शाहले घरदैलो अभियानलाई पनि तीव्रता दिनुभएको छ। गाउँ–गाउँ र टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले विगतका उपलब्धि र आगामी योजनाबारे स्पष्ट धारणा राख्दै समर्थनको अपिल गरिरहनुभएको छ। स्थानीय मतदाताहरूले विकासको निरन्तरता, पारदर्शिता र परिणाममुखी नेतृत्वको अपेक्षा राखेका छन्।

    रुपन्देही–५ मा यसपटक प्रतिस्पर्धा कडा हुने आकलन गरिए पनि पछिल्लो समय युवाहरूको बढ्दो आकर्षण र सक्रिय सहभागिताले कांग्रेसको चुनावी आधार थप सुदृढ बन्दै गएको कार्यकर्ताहरूको दाबी छ। चुनावी माहोल तातिँदै जाँदा आगामी दिनमा जनसमर्थन अझै विस्तार हुने विश्वास कांग्रेसजनले व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १२, मंगलवार २०:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP