• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस : सहिद परिवार सम्मानदेखि ऐतिहासिक स्थल भ्रमणसम्म

    • lumbinisanjal
    • २०८२ फाल्गुन १, शुक्रबार ०८:४८
    1.9K
    SHARES
    रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस : सहिद परिवार सम्मानदेखि ऐतिहासिक स्थल भ्रमणसम्म

    रुकुमपूर्व,१ फागुन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध सुरु भएको ऐतिहासिक भूमि रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउने भएको छ। यस अवसरमा पार्टीका संयोजक प्रचण्ड बिहीबार साँझ रुकुमपूर्व आइपुगेका छन्।

    जनयुद्धको सुरुआत विसं २०५२ फागुन १ गते यही क्षेत्रबाट भएको थियो। सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीय जनतासँगै जनयुद्ध दिवस मनाउने उद्देश्यसहित प्रचण्ड रुकुमपूर्व आएका हुन्। जनयुद्ध सुरु भएको ठाउँमै पहिलोपटक जनयुद्ध दिवस मनाउन आउनु प्रचण्डका लागि ऐतिहासिक मानिएको छ।
    दश वर्षसम्म चलेको जनयुद्धका क्रममा रुकुमपूर्वमा मात्रै २५२ जना सहिद भएका छन्। सङ्घीयतापछि बनेको कान्छो जिल्ला रुकुमपूर्वलाई जनयुद्धकै उपलब्धिका रूपमा लिइन्छ। यही जिल्लाबाट संयोजक प्रचण्ड प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत हुन्।

    आज भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना हुने जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको नेकपा रुकुमपूर्वले जनाएको छ।

    क्रान्ति र शान्तिको ऐतिहासिक केन्द्र रुकुम
    राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यसहित तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो। सोही दिन रुकुमको आठबीसकोट, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा एकसाथ आक्रमण गरी जनयुद्धको सुरुआत गरिएको थियो।

    जनयुद्धलाई सशक्त बनाउने रणनीतिअन्तर्गत रुकुम (पूर्व–पश्चिम) र रोल्पालाई आधार इलाका बनाइयो। रुकुमपूर्वमा रहेका प्रहरी चौकीहरूमाथि चरणबद्ध आक्रमण गर्दै माओवादीले आफ्नो पकड मजबुत बनाएको थियो।

    विसं २०५३ वैशाख २३ मा उपल्लो सेराको छेरावाङमा पहिलोपटक प्रहरीमाथि एम्बुस आक्रमण गरियो। त्यसपछि २०५४ माघ १६ मा क्युवाङमा भएको एम्बुस आक्रमणबाट नेपालमै पहिलोपटक थ्री–नट–थ्री राइफल माओवादीले कब्जा गरेको थियो।

    २०५६ असोज ५ मा महतमा रहेको प्रहरी चौकीमाथि आक्रमण गरी प्रहरी नायब उपरीक्षक ठूले राईसहितका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिइयो। उनी जनयुद्धका क्रममा माओवादी नियन्त्रणमा परेका सबैभन्दा उच्च तहका प्रहरी अधिकारी थिए। पछि उनलाई माओवादीका शीर्ष नेता देव गुरुङसँग साटफेर गरिएको थियो।

    विसं २०५७ चैतमा रुकुमकोट प्रहरी चौकीमाथि गरिएको आक्रमणमा चौकी पूर्ण रूपमा कब्जा गरियो। उक्त घटनामा ३२ प्रहरी र आठ छापामार गरी ४० जनाको ज्यान गएको थियो।

    चुनवाङदेखि शान्ति प्रक्रियासम्म
    विसं २०६१ माघमा रुकुमको लावाङमा बसेको माओवादी पोलिटब्यूरो बैठकले डा. बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गर्ने निर्णय गरेको थियो। त्यसपछि विसं २०६२ असोजमा चुनवाङमा सम्पन्न केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्राको आधार तयार गर्‍यो। चुनवाङ बैठककै निर्णय कार्यान्वयनका क्रममा सात राजनीतिक दलबीच १२ बुँदे सहमति भयो। सोही सहमतिबाट जनयुद्ध र जनआन्दोलनको संयोजन हुँदै राजतन्त्रको अन्त्य, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणाली स्थापना भएको हो।

    ऐतिहासिक स्थल भ्रमण र जनभेटघाट
    आज जनयुद्ध दिवस मनाउनुअघि संयोजक प्रचण्डले छापामारले प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको महतगाउँ र बाबुराम भट्टराईमाथि कारबाहीको निर्णय गरिएको लावाङगाउँको भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ जनभेटघाटपछि उनी चुनवाङ पुग्नेछन्।

    क्रान्ति सुरु र शान्ति स्थापनाको ऐतिहासिक केन्द्र मानिने रुकुमपूर्वबाट प्रतिनिधिसभा उम्मेदवार बनेका प्रचण्डका यी गतिविधिलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १, शुक्रबार ०८:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP