• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    सुशासन र गाउँमुखी नीति बिना कांग्रेस बलियो हुँदैन : सभापति पन्थी

    • lumbinisanjal
    • २०८२ पुष २९, मंगलवार १२:४१
    1.1K
    SHARES
    सुशासन र गाउँमुखी नीति बिना कांग्रेस बलियो हुँदैन : सभापति पन्थी

    बुटवल ,२९ पुस । लुम्बिनी प्रदेशको तर्फबाट गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा महत्वपूर्ण सुझाव दिएका छन्।

    सभापति पन्थीले कांग्रेसले सुशासनको मुद्दालाई केवल नारा नभई व्यवहारमै आत्मसात् गर्नुपर्नेमा जोड दिए। उनले सिंहदरबार केन्द्रित कर्मचारी प्रशासनमै सुशासनको पाठ पढाउन आवश्यक रहेको उल्लेख गर्दै, त्यहीँबाट सुधार सुरु हुनुपर्ने धारणा राखे।

    उनले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसका कार्यकर्ताहरूले गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूलाई किन खोजिरहेका छन् भन्ने कुरा पार्टी सभापति शेरबहादुर देउवाले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताए। नीति र नेतृत्वका संरक्षकहरू सुधारका पहल सहरमा मात्र सीमित नराखी गाउँ–गाउँसम्म पुर्‍याउन आवश्यक रहेको उनको भनाइ थियो।

    सभापति पन्थीले विकासका कार्यक्रम र अवसरहरू अब गाउँतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिँदै, गाउँलाई केन्द्रमा राखेर नीति निर्माण गर्नु कांग्रेसको स्पष्ट मार्गदर्शन हुनुपर्ने बताए। उनले देशका कुनै पनि नागरिक बिरामी पर्दा राज्यबाट सहज रूपमा उपचार सुविधा पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिक दायित्व हुनुपर्ने उल्लेख गरे।

    आज पहाडी क्षेत्रहरू रित्तिँदै गएको सन्दर्भ उल्लेख गर्दै उनले गाउँका युवाहरूलाई गाउँमै टिकाइराख्ने खालको सीपमूलक शिक्षा र रोजगारीको व्यवस्था आवश्यक रहेको बताए। “जो मन्त्री भयो, त्यसकै टोल र गाउँमा मात्र विकास हुने परिपाटी अन्त्य हुनुपर्छ,” भन्दै उनले जहाँ विकासको वास्तविक आवश्यकता छ, त्यहीँ योजनाहरू पुग्नुपर्नेमा जोड दिए।

    उनका अनुसार समावेशी विकास, सुशासन र गाउँमुखी नीति नै कांग्रेसलाई पुनः जनतासँग जोड्ने मुख्य आधार बन्न सक्छ।



    lumbinisanjal   
  • २०८२ पुष २९, मंगलवार १२:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP