• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा प्रहरीको कडा एक्सन: चर्को आवाज निकाल्ने मोटरसाइकल धमाधम समातिए

    • lumbinisanjal
    • २०८२ चैत्र २२, आईतवार ०८:४३
    949
    SHARES
    बुटवलमा प्रहरीको कडा एक्सन: चर्को आवाज निकाल्ने मोटरसाइकल धमाधम समातिए

    बुटवल, २२ चैत। बुटवलमा चर्को आवाज निकाल्ने र नियम मिच्ने मोटरसाइकलविरुद्ध प्रहरीले चलाएको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान अन्तर्गत करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको छ।

    इलाका प्रहरी कार्यालय बुटवलले शनिबार राति कालिका पथ क्षेत्रमा विशेष सर्च अपरेसन सञ्चालन गर्दै छोटो समयमै उल्लेख्य संख्यामा सवारी नियन्त्रणमा लिएको हो।

    प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार रातको समयमा अनावश्यक रूपमा चर्को आवाज निकाल्ने, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो।
    उनले मोटरसाइकलको अत्यधिक आवाजका कारण बजार क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको बताए।

    राति ९ बजेदेखि सुरु गरिएको अभियान करिब दुई घण्टा सञ्चालन हुँदा दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा परेका सवारी साधनका धनीमाथि कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिने जनाइएको छ।
    प्रहरीले यस्तो अभियानलाई निरन्तरता दिँदै बुटवलका अन्य क्षेत्रमा समेत विस्तार गर्ने तयारी गरेको छ।

    यसअघि पनि ध्वनि प्रदूषण र स्वरूप परिवर्तन गरिएका मोटरसाइकलविरुद्ध अभियान चलाइएको भए पनि केही समय शान्त रहेको अवस्था पछिल्लो समय फेरि ‘पड्काउने’ गतिविधि बढेपछि प्रहरी पुनः सक्रिय भएको हो।



    lumbinisanjal   
  • २०८२ चैत्र २२, आईतवार ०८:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP