• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४ सयभन्दा बढीले लिए सेवा

    • lumbinisanjal
    • २०८२ पुष १२, शनिबार १९:०२
    6.1K
    SHARES
    धुर्कोट जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४ सयभन्दा बढीले लिए सेवा

    गुल्मी, १२ पुस  । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धुर्कोट गाउँपालिकाको समन्वयमा बुटवल अस्पताल प्रा. लि. तथा जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजनामा जैसिथोक स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।

    शिविरबाट ४ वर्षका बालकदेखि १०६ वर्षीया वृद्धासम्म गरी करिब ४ सयभन्दा बढी स्थानीयवासीले विभिन्न रोगको स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् । चिकित्सकको सल्लाहअनुसार आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको जैसिथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलले जानकारी दिनुभयो ।

    शिविरमा सहभागी चिकित्सकहरूले रोगको प्रकृति अनुसार उपचार, परामर्श तथा दैनिक जीवनशैलीमा अपनाउनुपर्ने सावधानीबारे सुझाव दिएका थिए ।

    कार्यक्रमको उद्घाटन गर्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले गाउँमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सकिनु स्थानीय सरकारको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

    “नागरिकको स्वास्थ्य सुरक्षित हुनु नै समृद्ध स्थानीय तहको आधार हो । गाउँमै स्वास्थ्य सेवा पुर्‍याउन सके नागरिकलाई ठूलो राहत मिल्छ,” अध्यक्ष पोखरेलले भन्नुभयो । उहाँले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता निःशुल्क तथा विशेषज्ञ सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    गाउँपालिकाकी उपाध्यक्ष सिता गिरीले निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण नागरिकको स्वास्थ्य सचेतना बढाउन सहयोग पुगेको उल्लेख गर्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    शिविरमा सहभागी बुटवल अस्पताल प्रा. लि. का मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले आफू जन्मिएको गाउँमै स्वास्थ्य सेवा दिन पाउँदा खुसी र गर्व लागेको बताउनुभयो । उहाँले समयमै उपचार नगरे रोग जटिल बन्ने जोखिम रहने भन्दै नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको सल्लाह पालना गर्न आग्रह गर्नुभयो ।

    शिविरमा अर्थोपेडिक सर्जन डा. उत्सव रेग्मी, स्त्रीरोग विशेषज्ञ डा. बिन्दु खरेल, बालरोग विशेषज्ञ डा. प्रदीप शर्मा, फिजिसियन डा. सागर पौडेल लगायतका चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो ।
    स्थानीयवासीहरूले गाउँमै सर्जनसहितको स्वास्थ्य सेवा र निःशुल्क औषधि पाउँदा खुसी व्यक्त गर्दै यस्ता स्वास्थ्य शिविर ग्रामीण भेगका नागरिकका लागि ठूलो राहत बनेको प्रतिक्रिया दिएका छन् ।

    शिविर सफल बनाउन सक्रिय भूमिका खेलेका समाजसेवी भरत जंग क्षेत्री र राजेन्द्र पोखरेललाई कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो ।



    lumbinisanjal   
  • २०८२ पुष १२, शनिबार १९:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP