• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    इन्टलेक्च्युअल एकेडेमीले १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

    • lumbinisanjal
    • २०८१ फाल्गुन ४, आईतवार १६:२१
    3.3K
    SHARES
    इन्टलेक्च्युअल एकेडेमीले १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

    बुटवल , ४ फाल्गुन । बुटवल–११ कालीकानगरस्थित इन्टलेक्च्युअल एकेडेमीले १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। आइतबार आयोजित कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गरे।

    उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवल शिक्षाको हब बन्दै गएको उल्लेख गर्दै विद्यालय मात्र होइन, अभिभावकहरू पनि दक्ष जनशक्ति उत्पादनमा जिम्मेवार हुनुपर्ने बताए। उनले बालबालिकालाई घरमै अनुकूल वातावरण प्रदान गर्न अभिभावकहरूको महत्वपूर्ण भूमिका रहने बताए।

    ‘विद्यालयमा मात्र पढाएर हुँदैन, घरमा पनि पढ्न प्रेरित गर्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने। साथै, उनले बुटवलका निजी तथा सामुदायिक विद्यालयहरूले शैक्षिक तथा खेलकुद गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

    नगरप्रमुख पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाले शिक्षाको क्षेत्रमा लगानी बढाउँदै उत्कृष्ट विद्यालय, विद्यार्थी तथा शिक्षकलाई प्रोत्साहन गर्दै आइरहेको छ।

    विद्यालयका संस्थापक सञ्चालक तथा प्राचार्य रामराज पोख्रेलले विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनोपयोगी शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताए। ‘हामी प्रमाणपत्र मात्र दिने होइन, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ,’ उनले भने। उनका अनुसार विद्यालयका विद्यार्थीहरूले एसईई परीक्षामा लगातार उत्कृष्ट नतिजा हासिल गरिरहेका छन्।

    विद्यालयका अध्यक्ष गोबिन्दप्रसाद मरासिनीले शिक्षासँगै खेलकुद र अन्य सहशैक्षिक क्रियाकलापलाई प्राथमिकतामा राखेर विद्यालयले योजना अघि बढाएको जानकारी दिए। अभिभावक, शिक्षक र कर्मचारीहरूको समर्पणकै कारण विद्यालयले सफलता हासिल गरिरहेको उनले बताए।

    सांस्कृतिक कार्यक्रम र उत्कृष्ट विद्यार्थी सम्मान

    कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सल्लाहकार डा. विष्णु शर्मा, पूर्व अध्यक्ष डिल्लीराज अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत, पिटी, कराते प्रदर्शन गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाए। साथै, वार्षिक परीक्षा तथा विभिन्न गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विद्यार्थीहरूले बनाएका चित्रकला, विज्ञान र प्रविधिसम्बन्धी परियोजनाहरू प्रदर्शनीमा राखिएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक मेघराज पोख्रेलले गरेका थिए।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ४, आईतवार १६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP