• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

    • lumbinisanjal
    • २०८२ मंसिर १८, बिहीबार १५:४३
    1.4K
    SHARES
    पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

    काठमाडौँ, १८ मङ्सिर । साहब आलम एक्लैले ६ विकेट लिएपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा काठमान्डुले पोखरा एभेन्जर्सलाई १३ रनले हरायो ।

    लिगको सबै खेल सकेको काठमान्डु १० अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ । काठमान्डु प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ ।

    काठमान्डुसँगको हारसँगै पोखराको प्लेअफ सम्भवना कमजोर बनेको छ । पोखराको ६ खेलबाट चार अङ्क छ । जितका लागि एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रनमा समेटिएको थियो ।

    पोखराका लागि रिशि धवनले अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ३१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ५४ रन बनाउनुभयो । यस्तै धनञ्जय लक्ष्मणले ३०, कप्तान कुशल भुर्तेलले २२ र जासन रोयले १६ रन बनाउनुभयो ।

    बलिङमा काठमान्डुका साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिनुभयो । उहाँले चार ओभरमा २५ रन खर्चिएर विकेट लिनुभएको हो । यस्तै सन्नी पटेल र कप्तान करण केसीले दुई दुई विकेट लिनुभयो ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो ।

    काठमान्डुका लागि ओपनर बेन चार्ल्सवर्थले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन नबाउनुभएको हो ।

    यस्तै भिम सार्कीले पनि ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले २३ बलमा पाँच चौका र चार छक्का हान्नुभयो । मिलिन्ड कुमारले १३ रन जोड्नुभयो ।

    बलिङमा पोखराका धनञ्जय लक्ष्मणले चार विकेट लिनुभयो । कुशल भुर्तेलले दुई तथा किरण ठगुन्ना र विपिन कार्कीले एक एक विकेट लिनुभयो । आजै अपरान्ह ४ बजे हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ



    lumbinisanjal   
  • २०८२ मंसिर १८, बिहीबार १५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP