• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    कैलालीमा पति हराएको निवेदन दिएकी महिला पक्राउ, प्रेमीसँग मिलेर श्रीमान्‌ मारेको आरोप

    • lumbinisanjal
    • २०८३ भाद्र ११, बिहीबार ११:१७
    403
    SHARES
    कैलालीमा पति हराएको निवेदन दिएकी महिला पक्राउ, प्रेमीसँग मिलेर श्रीमान्‌ मारेको आरोप

    कैलालीमा प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या गरेको आरोपमा प्रहरीले महिलालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका-४ का ३३ वर्षीय दीपक सुनारको हत्या भएको हो।

    हत्या आरोपमा उनकै श्रीमतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीका अनुसार गत साउन २२ गतेदेखि दीपक सुनार जानकी गाउँपालिका-९, अमरावतीस्थित ससुरालीबाट हराएका थिए।

    उनकी श्रीमती यमुना सुनारले नै श्रीमान् हराएको भन्दै खोजीका लागि प्रहरीमा निवेदन दिएकी थिइन्।

    तर प्रारम्भिक अनुसन्धानका क्रममा यमुनाले प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या गर्ने योजना बनाएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए।

    अनुसन्धानका क्रममा दीपकको हत्या गर्ने योजना बनाई अमरावती जंगलमा लगेर हत्या गरेको र शवलाई मोटरसाइकलमा राखेर कर्णाली नदीमा फालेको खुलेको प्रहरीले जनाएको छ।

    प्रहरीले मृतककी श्रीमती यमुनासहित लम्कीचुहा नगरपालिका-१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका-३ का ३२ वर्षीय राम राजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका-९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी नगरपालिका-८ की ३२ वर्षीया भिमा रानालाई पक्राउ गरेको हो।

    पक्राउ परेका पाँचै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ भाद्र ११, बिहीबार ११:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP