• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    मणिमुकुन्द सेन उद्यानलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाउनेमा जोड

    • lumbinisanjal
    • २०८२ कार्तिक १७, सोमबार १९:४७
    2.9K
    SHARES
    मणिमुकुन्द सेन उद्यानलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाउनेमा जोड

    बुटवल,१७ कार्तिक । बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) लाई विशिष्टिकरण गर्दै लैजानुपर्नेमा यहाँका जनप्रतिनिधिहरुले जोड दिएका छन् । उद्यान संरक्षण समितिको सोमबार सम्पन्न १७ औ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उद्यानहरुलाई विशिष्टिकरण गर्न सके पर्यटकहरुको आर्कषण बढ्ने बताएका हुन ।

    कार्यक्रम प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ र समितिका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले अतिक्रमणको चपेटामा रहेको ऐतिहासिक र सामरिक महत्वलाई जोगाउने अभियानमा यहाँका पूर्वजहरुको योगदान रहेको बताए । फुलबारीको सामरिक महत्वलाई बचाउँदै थप प्रचारप्रसारलाई जोड दिनुपर्ने उनको सुझाव छ । कार्यक्रममा समितिका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले स्थानीय सरकारको संरक्षणमा रहेको पार्कको विकास र संरक्षणमा निरन्तर सहकार्य र पहल गरिरहेको बताए । समितिलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न कार्यविधि बनाएर अघि बढ्न जरुरी रहेको भन्दै यसलाई अघि बढाउन पालिका तयार रहेको बताए ।

    कार्यक्रममा समितिका अध्यक्ष माधव प्रसाद नेपालले गतवर्ष दिगोपनाका आधारहरु मजबुत गर्न, प्रशासनिक दक्षता बढाउन, आम्दानीका वैकल्पिक श्रोत सृजना गर्न र समुदायसँगको साझेदारीलाई संस्थागत बनाउने प्रयास गरिएको बताए । पुरातन शिवालय, बिष्णुपादुका, मजारस्थान तथा स्वामीनारायणले ३०० वर्षअघि विचरण गरेको स्थानसमेत हुँदा धार्मिक सहिष्णुता र साँस्कृतिक सहअस्तित्वको उत्कृष्ट घोतक बनेको उनले बताए । उद्यान केवल घुमफिर गर्ने ठाउँमात्र नभई यो अध्ययन, चिन्तन र आत्मिक अनुभूतिको पनि पवित्र स्थल बनेको उनको दाबी छ ।

    बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्याल, राष्ट्रिय उद्यान महासंघ नेपालका अध्यक्ष खेम लुईटेल, समितिका सल्लाहकार निर्मल जिसी, समितिका उपाध्यक्ष रमेश नेपालले पार्कको विविधिकरणमा जोड दिनुपर्ने बताए ।

    मणिमुकुन्द सेन उद्यानको तथ्याङ्क अनुसार यहाँ एक वर्षको अवधिमा ५ लाख ४७ हजार १९९ जना पर्यटक भित्रिएका छन । सेनवंशीय भग्नावशेष दरबार रहेको सामरिक महत्व बोकेको यस क्षेत्रमा अध्ययन अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेका छन् । जसमा ७४ हजार भारतीय र १७५ जना तेस्रो मुलुकका पर्यटक रहेको उद्यान समितिले जनाएको छ । आर्थिक वर्षमा ४ करोड १० लाख ३४ हजार रुपैँया आम्दानी भएको छ । समितिमा ६०१ सदस्यहरु आवद्ध छन ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १७, सोमबार १९:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP