• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    जेनजी आन्दोलनका नाममा अराजकता: नगरप्रमुख खाणको घरदेखि रुपन्देहीका विभिन्न प्रतिष्ठानमा आगजनी र तोडफोड

    • lumbinisanjal
    • २०८२ आश्विन ३, शुक्रबार १९:३१
    4.7K
    SHARES
    जेनजी आन्दोलनका नाममा अराजकता: नगरप्रमुख खाणको घरदेखि रुपन्देहीका विभिन्न प्रतिष्ठानमा आगजनी र तोडफोड

    बुटवल, ३ असोज । जेन-जी आन्दोलनका नाममा रुपन्देहीमा अराजकता चरमोत्कर्षमा पुगेको छ । सरकारी कार्यालय, निजी व्यवसायिक प्रतिष्ठान र नेताहरुको निवासमा समेत आगजनी, तोडफोड र लुटपाट हुँदा स्थानीयवासीमा त्रासको माहोल छाएको छ ।

    तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको जन्म, हुर्काई र वासस्थान रहेको घरमा समेत आन्दोलनकारीहरूले तोडफोड गरी आगजनी गरेका छन् । उनका दाजु पूर्व गृहमन्त्री बालकृष्ण खाण र भाइ श्यामकृष्ण खाणको घर पनि जलाइएको छ । खाण परिवारको २०२० सालमै बनेको पुरानो घर जलेर ध्वस्त भएको छ ।

    नगर प्रमुख खाणले निर्वाचित हुनुअघि नै नागरिकसँग वाचा गरेर अघि बढेका थिए । तलब–भत्ता नलिई सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेदेखि नगरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बढाउन भूमिका निर्वाह गरिरहेका उनी सेवाभावको उदाहरणका रुपमा चिनिन्छन् ।

    नगर प्रमुख खाणले भने, “जेन जी आन्दोलन परिवर्तनका लागि आयोजना गरिएको हो भन्ने बुझेकामा त्यसको विपरीत अराजक कार्य हुँदा चिन्ता बढेको छ।”

    यसैगरी सैनामैना नगर प्रमुख फणिन्द्र शर्मा, सिद्धार्थनगर नगर प्रमुख इस्तियाक अहमद खान, पूर्व मुख्यमन्त्री लीला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकाल, संघीय सांसद शर्वेन्द्र नाथ सुक्ला, प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरे, खेलकुद मन्त्री सन्तोष पाण्डेयलगायतका घरमा समेत आगजनी र तोडफोड भएको छ ।

    देवदह नगर प्रमुख ध्रुव खरेल, सैनामैनाकी उपप्रमुख विना राना, तिलोत्तमा–१ का वडाध्यक्ष फर्सुराम गिरी, सैनामैनाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की, बुटवल उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्याल, सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारी र राप्रपाका नेता सागर प्रताप राणाका घरमा समेत तोडफोड र आगजनी भएको छ ।

    अराजकतामा ठूला व्यवसायिक संरचनाहरू पनि जोगिन सकेनन् । तिलोत्तमा–५ स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, तिलोत्तमा–४ मा रहेको टुलिप प्रतिष्ठान, ओमसतियास्थित बोधी रेडसन र सिद्धार्थनगरको मौर्या प्रतिष्ठानमा समेत क्षति पुगेको छ ।

    प्रदर्शनकारीहरूले बुटवल र भैरहवामा रहेका भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाटसमेत गरेका छन् । दुवै केन्द्रका वस्तुहरू फुटाइएको र चोरी गरेर लगिएको तस्वीर तथा भिडियोहरू सार्वजनिक भएका छन् ।

    रुपन्देहीमा २७ सरकारी कार्यालय, २७ निजी आवास र व्यवसायिक प्रतिष्ठान, १७ पार्टी कार्यालयसहित ७१ भन्दा बढी संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको प्रहरीले जनाएको छ ।

    स्थानीयको भनाइमा, “सकारात्मक काम गर्ने नेताहरू र समाजसेवामा सक्रिय व्यक्तिहरूमाथि गरिएको यो आक्रमणले समाजमा नकारात्मक दृष्टिकोण र त्रास पैदा भएको छ।”



    lumbinisanjal   
  • २०८२ आश्विन ३, शुक्रबार १९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP