• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपालका युवा बिद्यार्थीलाई देशमै रोक्न पढ्दै कमाउने नीति ल्याउनुपर्छ :पूर्वमन्त्री खाँण

    • lumbinisanjal
    • २०८२ बैशाख २०, शनिबार २०:२८
    5K
    SHARES
    नेपालका युवा बिद्यार्थीलाई देशमै रोक्न पढ्दै कमाउने नीति ल्याउनुपर्छ :पूर्वमन्त्री खाँण

    बुटवल , २० बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विदेशी विद्यार्थीलाई पनि नेपालमा पढ्न छात्रबृत्ति प्रदान गरेर आकर्षित गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालका विश्वविद्यालय तथा क्याम्पसहरुमा बिदेशी बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके बिदेशीको आर्कषण समेत बढ्ने उल्लेख गर्नुभयो । नेपालका युवा बिद्यार्थीलाई देशमै रोक्न पढ्दै कमाउन मिल्ने गरी शिक्षा नीति लिनुपर्ने उहाँको भनाइ छ । बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसको क्याम्पस सभा (अधिवेशन)को शनिबार उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका खाँणले शिक्षालाई सीप र सीपलाई रोजगारीसंग जोड्नेगरी तीनै तहका सरकारले नीति बनाउन र नीति अनुसारका कार्यक्रम ल्याउन आग्रह गर्नुभएको हो ।

    विदेशमा पढ्दै कमाउँदै गर्न मिल्ने भएकै कारण बैदेशिक शिक्षामा आकर्षण बढेको बताउँदै उहाँले नेपालमा पनि त्यसै अनुसारको नीति तय गरेर कार्यक्रम बनाउनु पर्ने भनाई राख्नुभएको हो । उहाँले भन्नुभयो–‘विदेशी विश्वविद्यालय तथा क्याम्पसमा नेपाली विद्यार्थीलाई छात्रबृत्ति दिएजस्तै गरी विदेशी विद्यार्थीलाई पनि नेपालका विश्वविद्यालय तथा क्याम्पसहरुमा पढ्न छात्रबृत्ति दिनुपर्छ ।’ उहाँले उद्यमशिलता तथा रोजगारी, सूचना प्रविधि, पर्यटन, अनुसन्धान लगायतका कुरालाई शिक्षासंग जोड्नुपर्ने भनाई राख्नुभयो ।

    त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल बहुमुखी क्याम्पस र लुम्बिनी बाणिज्य क्याम्पस भन्दा पृथक हुनेगरी सिद्धार्थ गौतमबुद्ध क्याम्पस स्थापना गरिएको बताउँदै पृथक पहिचान स्थापित गर्न क्याम्पस प्रशासनलाई आग्रह गर्नुभयो ।

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले प्राप्त भएका सुझावका आधारमा थप कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै क्याम्पस व्यवस्थापन समितिका पदेन सदस्य बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले विद्यार्थीलाई आकर्षण गर्नेगरी विषयगत हिसावले नविनतम शैक्षिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिँदै विषयगत क्रियाकलापमा संघले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष तथा पूर्व क्याम्पस प्रमुख कृष्णलाल जोशी, क्याम्पस प्रमुख गोपालप्रसाद चापागाई, पब्लिक क्याम्पस प्राध्यापक संघका रामनाथ उपाध्याय, पब्लिक क्याम्पस कर्मचारी संघका ओमभद्र गौतम लगायतले भनाई राख्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख २०, शनिबार २०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP