• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    चाडपर्व लक्षित कपिलवस्तुमा नौ स्थानमा यात्रु सहायता कक्ष, सीमा नाकामा सुरक्षा कडा

    • lumbinisanjal
    • २०८३ आश्विन २०, मंगलवार १७:४५
    598
    SHARES
    चाडपर्व लक्षित कपिलवस्तुमा नौ स्थानमा यात्रु सहायता कक्ष, सीमा नाकामा सुरक्षा कडा

    डिलाराम भुसाल / कपिलवस्तु । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी कपिलवस्तुका नौ स्थानमा संयुक्त यात्रु सहायता कक्ष तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका बेला यात्रुको यात्रा सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सहायता कक्ष स्थापना गरिएको हो।

    तौलिहवास्थित बसपार्कमा आयोजित औपचारिक समारोहबीच सहायता कक्षको शुभारम्भ गरिएको छ। कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्यानर पढेर सहायता कक्षको शुभारम्भ गर्दै चाडपर्वमा सवारीसाधन र यात्रुको चाप बढ्ने भएकाले सहायता कक्ष प्रभावकारी हुने बताए।

    ‘चाडपर्वको समयमा यात्रु ठगिने, सामान हराउने, बस छुट्ने तथा टिकट र सिट नपाउनेजस्ता समस्या आउन सक्छन्। यस्ता समस्याको समाधानमा यात्रु सहायता कक्ष सहयोगी सिद्ध हुनेछ,’ मेयर पौडेलले भने।

    उनले सुरक्षा संवेदनशील जिल्लाका रूपमा रहेको कपिलवस्तुमा धार्मिक सद्भाव कायम राख्दै चाडपर्वको सुरक्षा व्यवस्था थप कडा बनाउनुपर्नेमा जोड दिए।

    कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले चाडपर्व लक्षित एकीकृत सुरक्षा रणनीति तयार पारिएको जानकारी दिँदै यात्रु सहायता कक्षले सर्वसाधारणलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न ठूलो मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

    भारतबाट दशैं–तिहार मनाउन घर फर्किने प्रवासी नेपालीको चाप सीमा नाकामा बढ्न थालेकाले सुरक्षा व्यवस्था थप कडा पारिएको कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले बताए। विगतमा सीमा नाका तथा यात्राका क्रममा सर्वसाधारण र प्रवासी नेपालीले सास्ती भोग्नुपरेका जनगुनासोलाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले बताए।

    ‘नाकामा यात्रु ठगिने, लुटिने तथा दुर्घटनामा पर्ने जोखिमलाई ध्यानमा राखी सुरक्षाकर्मीलाई निगरानी बढाउन कडा निर्देशन दिइएको छ,’ एसपी भट्टले भने।

    उनका अनुसार यात्रु सहायता कक्षसँगै क्विक रेस्पोन्स टिम परिचालन, नागरिकमैत्री वातावरण निर्माण तथा दुर्घटना न्यूनीकरणका लागि पर्चा–पम्प्लेट वितरण र सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

    जिल्लाको भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सीमा क्षेत्रमा तीन र सीमा बाहिर छ गरी कुल नौ वटा सहायता केन्द्र स्थापना गरिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए।

    उनका अनुसार सीमा क्षेत्रका कृष्णनगर, मर्यादपुर र चाकडचौडा तथा अन्य स्थानमा तौलिहवा, चन्द्रौटा, गोरुसिंगे, पिपरा, बहादुरगन्ज र पकडीमा सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ।

    प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली खटिने यी कक्षबाट यात्राका क्रममा समस्यामा परेका नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराइने सिंहले बताए।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले चाडपर्वका बेला प्रवासी नेपाली तथा आम नागरिकले सीमा नाका र सडकमा भोग्नुपर्ने सास्ती अन्त्य गर्न नागरिक–प्रहरी सहकार्य आवश्यक रहेको बताए। उनले स्थापना गरिएका यात्रु सहायता कक्ष नागरिकमैत्री र प्रभावकारी बन्नुपर्नेमा जोड दिए।

    यात्रु सहायता कक्ष दशैं, तिहार र छठ पर्वको अवधिभर निरन्तर सञ्चालनमा रहने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन २०, मंगलवार १७:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP