• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट कांग्रेसमा नेतृत्वको दौड : सभापतिका लागि आधा दर्जन आकांक्षी

    • lumbinisanjal
    • २०८३ आश्विन ५, सोमबार ०९:४७
    403
    SHARES
    धुर्कोट कांग्रेसमा नेतृत्वको दौड : सभापतिका लागि आधा दर्जन आकांक्षी

    कपिल पाण्डे / गुल्मी । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै गुल्मीको धुर्कोट गाउँपालिकामा पार्टी नेतृत्वका लागि आकांक्षीहरू खुल्न थालेका छन् ।

    गाउँपालिका सभापति नै केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्थाका कारण यसपटक धुर्कोट कांग्रेसको नेतृत्वका लागि सिनियरदेखि युवा पुस्तासम्मका नेताहरूले इच्छा देखाउन थालेका छन्।

    सभापति पदका लागि हालसम्म आधा दर्जन आकांक्षी चर्चामा आएका छन्। आकांक्षीहरूबीच आन्तरिक भेटघाट र छलफलसमेत बढ्न थालेपछि धुर्कोटमा कांग्रेसको पालिका अधिवेशन रोचक बन्ने संकेत देखिएको छ।

    निवर्तमान गाउँपालिका सभापति हरि बहादुर थापा पुनः नेतृत्वमा दोहोरिने तयारीमा छन्। गाउँपालिका पार्टीको नेतृत्व गरिसकेका थापा आफ्नो अघिल्लो कार्यकालको अनुभवसहित पुनः सभापतिको दौडमा देखिएका हुन्।

    त्यस्तै, नेपाली कांग्रेस गुल्मी जिल्ला कार्यसमितिमा दुई कार्यकाल सदस्यको जिम्मेवारी सम्हालिसकेका नवीन जिसी पनि सभापतिका आकांक्षीका रूपमा देखिएका छन्। जिल्ला तहको संगठनात्मक अनुभवलाई आधार बनाएर जिसीले पालिका नेतृत्वमा दाबी गर्ने तयारी गरेको बुझिएको छ।

    रामप्रसाद घिमिरे पनि सभापतिका आकांक्षीमध्ये एक हुन्। उनी यसअघि धुर्कोट गाउँपालिका सभापतिको जिम्मेवारी सम्हालिसकेका पूर्वसभापति हुन्।

    त्यसैगरी, धुर्कोट गाउँपालिकाका निवर्तमान सचिव भोजराज घिमिरेले पनि सभापति पदमा दाबी गर्ने तयारी गरेका छन्। पालिका तहको संगठन सञ्चालनमा प्राप्त अनुभवका कारण उनको सम्भावित उम्मेदवारीलाई पनि चासोका साथ हेरिएको छ।

    युवा पुस्ताबाट कमल पोख्रेलको नाम पनि चर्चामा छ। निवर्तमान नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा निवर्तमान प्रदेश प्रतिनिधिसमेत रहेका पोख्रेल युवा व्यवसायीका रूपमा समेत परिचित छन्। उनको सम्भावित उम्मेदवारीले धुर्कोट कांग्रेसको नेतृत्व प्रतिस्पर्धामा युवा पुस्ताको दाबीलाई थप बलियो बनाउने देखिएको छ।

    यस्तै, कांग्रेसका अनुभवी नेता ढुण्डिराज भण्डारीले पनि सभापति पदमा इच्छा देखाएका छन्। भण्डारी यसअघि क्षेत्रीय सभापति तथा धुर्कोट गाउँपालिका–५, वस्तुका पूर्ववडा अध्यक्षसमेत भइसकेका छन्।

    यसरी निवर्तमान सभापतिदेखि पूर्वसभापति, पूर्वक्षेत्रीय सभापति, जिल्ला कार्यसमितिका पूर्वसदस्य, पालिका तहका पूर्वपदाधिकारी तथा युवा पुस्ताका नेतासम्म सभापतिको दौडमा देखिएपछि धुर्कोट कांग्रेसको अधिवेशनलाई गुल्मी कांग्रेसभित्र चासोका साथ हेरिएको छ।

    आकांक्षीहरूको संख्या आधा दर्जन पुगे पनि अन्तिमसम्ममा सहमतिको प्रयास हुने सम्भावना कायमै छ। तर सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन हुने अवस्थामा धुर्कोटमा यसपटक कांग्रेसको पालिका नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन ५, सोमबार ०९:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP