• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    जनताको विश्वास गुमाउँदै सरकार: देश कता जाँदैछ ?

    • lumbinisanjal
    • २०८३ श्रावण १३, बुधबार १५:५४
    39
    SHARES
    जनताको विश्वास गुमाउँदै सरकार: देश कता जाँदैछ ?

    वर्तमान सरकार झन्डै दुईतिहाइ बहुमतका साथ देशको नेतृत्व गरिरहेको छ। युवा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रति जनतामा रहेको आशा र भरोसा दिनप्रतिदिन खस्किँदै गएको अनुभूति हुन थालेको छ। युवामाझ लोकप्रिय बालेन नेतृत्वको सरकार पछिल्ला गतिविधिका कारण पटक–पटक विवादमा तानिएको देखिन्छ। देशमा भएका विभिन्न घटनाहरू अप्रत्याशित रूपमा विकसित भइरहेका छन् र ती घटनासँग सरकारको नाम बारम्बार जोडिने गरेको छ।

    सरकारले गरेका धेरै निर्णय सुरुवातमा जनपक्षीय जस्ता देखिए पनि पछि ती निर्णयहरू सर्वोच्च अदालतबाट किन उल्ट्याइँदै छन् भन्ने प्रश्न उठ्न थालेको छ। यसले सरकारका निर्णयहरू हतारमा भएका हुन् कि पर्याप्त कानुनी अध्ययन र तयारीको अभावमा गरिएका हुन् भन्ने आशंका जन्माएको छ। कुनै पनि विषयमा अपरिपक्व निर्णय गर्नु भनेको सरकारप्रतिको जनविश्वास कमजोर बनाउनु हो।

    सुकुम्बासी बस्ती हटाउने तथा व्यवस्थापनको विषय, केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्ने प्रसंग, कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा जेन्जी युवामाथि भएको घटना, युवकको आत्मदाहलगायतका विषयमा सरकार अपेक्षाअनुसार प्रस्तुत हुन नसकेको देखिन्छ।

    यो सरकार संवैधानिक सरकार हो। त्यसैले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै अघि बढ्न प्रधानमन्त्रीको विशेष ध्यानाकर्षण गराउन चाहन्छु। स्पष्ट बहुमत प्राप्त सरकारले पनि देशका लागि उल्लेखनीय काम गर्न नसके नेपाल कहिले बन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्नेछ।

    प्रतिपक्षी दलले सरकारको आलोचना गर्नु, कमजोरी औँल्याउनु वा सरकारलाई घेराबन्दी गर्ने प्रयास गर्नु लोकतान्त्रिक व्यवस्थाको स्वाभाविक पक्ष हो। त्यसलाई केवल विरोधका रूपमा होइन, खबरदारीका रूपमा बुझ्न आवश्यक छ। आलोचनाबाट पाठ सिकेर सरकार अझ प्रभावकारी बन्न सक्छ।

    पुराना सरकारले केही गरेनन् भन्ने भाष्य पनि पूर्णतः सही होइन। उनीहरूले अपेक्षाअनुसार काम गर्न नसकेका हुन सक्छन्, तर सबै कुरा नकारेर आफू मात्र सही देखिने प्रवृत्ति स्वस्थ राजनीतिक संस्कार होइन। यो सरकारप्रति जनताको ठूलो आशा छ। कृपया देश विकासमा केन्द्रित हुनुहोस्, व्यक्ति सिध्याउने राजनीतिक खेलमा होइन।

    भर्खरै सुनसरीमा भएको कहालीलाग्दो घटनामा पनि सरकार पर्याप्त संवेदनशील देखिएको छैन भन्ने जनगुनासो सुनिन्छ। देशको प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुभन्दा वास्तविक घटनाको सत्यतथ्य पत्ता लगाउन, सम्बन्धित निकायलाई प्रभावकारी निर्देशन दिन र न्याय सुनिश्चित गर्न सक्रिय हुनुपर्छ।

    धर्मको नाममा भएका घटनाहरूले राम्रो संकेत दिँदैनन्। नेपाल धार्मिक सहिष्णुताको पहिचान बोकेको देश हो। आज धर्मकै नाममा हिंसा र द्वन्द्व बढ्नु अत्यन्तै चिन्ताजनक विषय हो। खुला सीमाका कारण तराईका विभिन्न क्षेत्रमा बढ्दो आवतजावत र त्यससँग जोडिएका सुरक्षा चुनौतीप्रति राज्य तथा सुरक्षा निकाय गम्भीर हुन आवश्यक छ। यस्ता विषयमा तथ्यका आधारमा अनुसन्धान गर्दै कानुनअनुसार आवश्यक कदम चालिनुपर्छ।

    धर्मका नाममा भएको उक्त घटनामा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

    राजनीतिक आस्था र दलभन्दा माथि मेरो देश र मेरा जनता। 🙏

    विशाल भण्डारी
    धुर्कोट गाउँपालिका–५, गुल्मी
    हाल: जापान 🇯🇵



    lumbinisanjal   
  • २०८३ श्रावण १३, बुधबार १५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP