• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस सभापति गगन थापालाई  खुला पत्र

    • lumbinisanjal
    • २०८३ आश्विन २४, शनिबार १३:४३
    533
    SHARES
    कांग्रेस सभापति गगन थापालाई  खुला पत्र

    ​सभापतिज्यू,
    जय नेपाल।
    ​सर्वप्रथम, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको ऐतिहासिक मन्थनबाट पार्टीको सर्वोच्च पद सभापतिमा निर्वाचित हुनुभएकोमा एक सचेत युवाको तर्फबाट हार्दिक बधाई।

    विशेष महाधिवेशनको जटिलता, संशय र नियमित महाधिवेशनसम्म आइपुग्दाको यो अग्निपरीक्षा कति चुनौतीपूर्ण थियो भन्ने तथ्य सत्ता र शक्तिको वृत्तभन्दा बाहिर रहेका हामीलाई पनि प्रस्टै थाहा छ।
    ​म आज कुनै दलको कार्यकर्ता वा शक्तिको चाकडी गर्ने मान्छे भएर होइन यो देशको धुलो, माटो र चियाको बाफमा भविष्य खोजिरहेको एउटा सामान्य नागरिक भएर तपाईंलाई यो पत्र लेख्दै छु।

    ​बुटवल जेसिजको त्यो सम्बोधन र ‘विधिको शासन’ को आवाज
    ​मलाई आज पनि हिजोजस्तै लाग्छ बुटवल जेसिजको एक पदस्थापन समारोह। तपाईं प्रमुख वक्ताका रूपमा मञ्चमा उभिँदा हल शान्त थियो। तपाईंले ‘जेसिज आस्था’ (JCI Creed) का प्रत्येक हरफलाई जसरी दर्शन र विधिको शासनसँग जोडेर व्याख्या गर्नुभएको थियो— “व्यक्ति होइन, विधि प्रधान हुनुपर्छ” भनेर तपाईंले दिएको त्यो अभिव्यक्ति आज पनि मेरो स्मृतिमा ताजा छ।
    ​परिवर्तनको सुरुवात अरूलाई उपदेश दिएर होइन, आफैँबाट गर्नुपर्छ। आज तपाईं त्यही सिद्धान्त कार्यान्वयन गर्ने ठाउँमा नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको सर्वोच्च कुर्सीमा पुग्नुभएको छ। अब तपाईंले शब्दमा व्याख्या गर्नुभएको विधिको शासनको पहिलो अभ्यास नेपाली कांग्रेसभित्रैबाट सुरु हुनुपर्छ।

    ​२०६२/६३ को सडकदेखि आजको जेनजी (Gen-Z) सम्मको यात्रा

    ​२०६२/६३ को जनआन्दोलनमा म बुटवलमै थिएँ। प्रजापाल गिरि, बाबुराम पन्थी, प्रकाश राना, किसन ज्ञवालीलगायतका युवा नेता आन्दोलनको मोर्चामा हुनुहुन्थ्यो। हामी नारा लगाउँथ्यौँ। हाम्रो सपना सरल थियो ।  राजतन्त्र फालेर लोकतन्त्र ल्याउने, संविधानसभाबाट संविधान बनाउने, र युवाले पनि अवसर पाउने देश निर्माण गर्ने।
    ​त्यही सडकमा हामीले घाँटी सुक्ने गरी “गगन थापा जस्ता युवाले देश हाँक्नुपर्छ!” भनेर नारा लगायौँ। त्यो कसैको चाकडी थिएन, आफ्नै भविष्यको माग थियो; त्यो हाम्रो जवानीको सपना र पुस्ताको भरोसा थियो ।

    लोकतन्त्र आयो, संविधान पनि बन्यो। तर के अवसर पाउने युवाको त्यो सपना पूरा भयो? आज अर्को पुस्ता जेनजी (Gen-Z) त्यही प्रश्न लिएर सडक र सामाजिक सञ्जालमा छ। उनीहरूको आक्रोश वैध छ ।  योग्यताको कदर, अवसरका लागि नातागोता नखोज्नुपर्ने थिति, र नतिजा दिने नेतृत्व। त्यो आक्रोशलाई दबाउने होइन, सुन्ने र सृजनशील दिशा दिने ऐतिहासिक जिम्मेवारी हिजोका विद्रोही युवा, आजका सभापतिको काँधमा छ। साथै, जेनजीका मागलाई कुल्चेर स्वार्थ समूहका इच्छा पूरा गर्ने खेललाई परास्त गर्ने साहस पनि तपाईंले देखाउनैपर्छ। युवाका माग बीचैमा हराए भने त्यो केवल एउटा पुस्ताको होइन, लोकतन्त्रप्रतिकै विश्वासको हार हुनेछ।

    ​प्रश्नको सजिलो राजनीतिबाट उत्तरको कठिन धरातलसम्म

    ​सभापतिज्यू,
    हिजो प्रतिपक्षमा रहँदा वा संसद्को रोस्ट्रममा उभिँदा प्रश्न गर्न सजिलो थियो। आक्रोश बिक्थ्यो, ताली बज्थ्यो र आलोचना लोकप्रिय हुन्थ्यो। तर राजनीति सधैँ प्रश्नको सहज बाटोमा मात्र हिँडिरहदैन; आज तपाईं जवाफ दिने ठाउँमा पुग्नुभएको छ। अब नागरिकले तपाईंका शब्द होइन, तपाईंका निर्णय र त्यसको नतिजा हेर्नेछन्।

    पछिल्लो संघीय निर्वाचनको परिणाम र पुराना नेताहरूको बहिर्गमन कुनै संयोग मात्र होइन, त्यो वर्षौँदेखिको जनआक्रोशको विस्फोट थियो। अब आलोचनाबाट भाग्ने छुट तपाईंलाई छैन। नेतृत्वको असली परीक्षा आफ्ना प्रशंसकहरूको भीडमा होइन, निर्मम आलोचकहरूको आवाजलाई धैर्यतापूर्वक सुन्ने र स्वीकार गर्ने सामर्थ्यमा हुन्छ।

    ​रूपान्तरण माथिबाट तल कि तलबाट माथि?

    ​हामी सधैँ रूपान्तरणको कुरा गर्छौँ। तर रूपान्तरण केन्द्रीय कार्यालय सानेपा वा सिंहदरबारको कोठाबाट तल झर्ने विषय होइन; यो त भुइँतहबाट उम्रिएर माथि चढ्नुपर्ने प्रक्रिया हो।

    ​राजनीतिमा उमेर कहिल्यै बाधक हुँदैन, तर राजनीति गर्ने मान्छे समयसँग ‘अपडेट’ नहुनुचाहिँ बौद्धिक आत्महत्या हो। राजनीति समाजको खुला विश्वविद्यालय हो, जहाँ निरन्तर नयाँ चेतना र ज्ञान चाहिन्छ। तर विडम्बना, आज हाम्रा गाउँ र सहरका चिया पसलका कुनामा बसेर अरूको चरित्रहत्या गर्ने, गुटको षड्यन्त्र बुन्ने र गफ चुटेर नेता बन्ने प्रवृत्तिले स्थानीय राजनीतिलाई ध्वस्त पारेको छ।

    चिया पसलको त्यो अनुत्पादक गफबाट पार्टी पंक्तिलाई निकालेर समाजका समस्या समाधान गर्ने ‘कोर्स करेक्सन’ को नियमित कक्षामा लैजाने आँट तपाईंले गर्नैपर्छ। स्थानीय तहमा अध्ययनशील, उत्पादनसँग जोडिएका र नागरिकका सुख-दुःखमा उभिने कार्यकर्ता नबनेसम्म माथि जतिसुकै राम्रो नीति बनाए पनि त्यसको अर्थ रहँदैन।

    ​पहिलो १०० दिनमा हामीले देख्न चाहेका तीन काम:

    ​पारदर्शी हिसाब: पार्टीको आय-व्यय र चन्दाको विवरण पूर्ण रूपमा सार्वजनिक गरियोस्।
    ​मापदण्ड कार्यान्वयन: टिकट वितरण र पदीय नियुक्तिमा लिखित, सार्वजनिक मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गरियोस्; ताकि योग्यता नै मूल आधार बनोस्, गुट र नातागोता होइन।
    ​स्थानीय तालिम: प्रत्येक स्थानीय तहमा कार्यकर्तालाई नीति, कानुन, प्रविधि र सार्वजनिक सेवा-प्रवाहसम्बन्धी नियमित प्रशिक्षण सुरु गरियोस्।

    ​सहकार्यको मर्म र विश्वप्रकाश शर्माको साथ

    ​अन्त्यमा,
    इतिहासमा धेरै नेताहरू शिखरमा पुगेपछि अहंकार पाल्छन् र एक्लिन्छन्। म तपाईंलाई विनम्रतापूर्वक स्मरण गराउन चाहन्छु-  यो कठिन रूपान्तरणको यात्रामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको साथ, सन्तुलन र सहकार्यलाई कहिल्यै नजरअन्दाज नगर्नुहोला। तपाईंहरूको जोडी केवल पार्टीभित्रको अंकगणित थिएन र होइन, त्यो नेपाली राजनीतिमा आशाको एउटा प्रतीक हो। त्यो सहकार्य कुनै रणनीतिक स्वार्थमा होइन, देश बनाउने साझा संकल्पमा अझ प्रगाढ हुनुपर्छ।

    ​सभापतिज्यू,
    तपाईं केवल एउटा पार्टीको सभापति बन्नुभएको होइन तपाईं यो देशका निराश तर अझै पनि परिवर्तनको झिनो आशा बोकेर बाँचेका लाखौँ नागरिकको सपनाको नैतिक ऋणी बन्नुभएको हो।
    ​इतिहासले तपाईंलाई यो दुर्लभ अवसर दिएको छ, अब परीक्षा तपाईंको इच्छाशक्ति र इमानको हो। अबको केही वर्षपछि हामीले पनि निराश हुँदै अरू पुराना नेतालाई झैँ तपाईंलाई भन्नु नपरोस- ‘दाइ, तपाईंलाई पनि वरिपरिकाले ढाँटे!’
    तपाईको शुभेच्छुक
    रमेश अर्याल 
    बुटवल



    lumbinisanjal   
  • २०८३ आश्विन २४, शनिबार १३:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP