• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    “नेपाल प्रहरी कुनै व्यक्ति वा नेताको होइन, सम्पूर्ण राष्ट्रको संस्था हो”

    • lumbinisanjal
    • २०८३ असार २५, बिहीबार १२:४१
    949
    SHARES
    “नेपाल प्रहरी कुनै व्यक्ति वा नेताको होइन, सम्पूर्ण राष्ट्रको संस्था हो”

    “सत्य, सेवा, सुरक्षा” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल प्रहरी स्थापना कालदेखि नै देश र जनताको सेवामा २४सै घण्टा समर्पित रहँदै आएको राष्ट्रको एक जिम्मेवार र अनुशासित संस्था हो। राज्यले दिएको नीति–निर्देशनको पालना गर्नु, कानुनको कार्यान्वयन गर्नु तथा संगठनको गरिमा जोगाउनु यसको प्रमुख दायित्व हो। नेपाल प्रहरी कुनै व्यक्ति, दल वा समूहको स्वार्थअनुसार सञ्चालन हुने संस्था होइन, बरु सम्पूर्ण नेपालीको सुरक्षा र राष्ट्रहितका लागि निरन्तर खटिने राष्ट्रको भरोसायोग्य पहरेदार हो।

    हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय सुखड, कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले प्रशिक्षणका क्रममा भन्नुभएको— “नेपाल प्रहरी बालेनको प्रहरी होइन, यो नेपालको प्रहरी हो।” भन्ने अभिव्यक्तिलाई लिएर उहाँलाई जिम्मेवारीबाट हटाई सोधपुछका लागि तानिएको भन्ने समाचार सार्वजनिक भएका छन्। यदि यो निर्णय केवल उक्त अभिव्यक्तिकै आधारमा गरिएको हो भने, यसले राज्य संयन्त्रमाथि अनावश्यक राजनीतिक वा व्यक्तिगत प्रभाव परेको आशंका जन्माउँछ, जुन लोकतान्त्रिक शासन प्रणालीका लागि सकारात्मक संकेत मान्न सकिँदैन।

    नेपाल प्रहरी सरकारप्रति उत्तरदायी संस्था हो र सरकारले दिएको कानुनी नीति–निर्देशनको पालना गर्नु यसको कर्तव्य हो। तर कुनै व्यक्तिलाई मन नपरेको अभिव्यक्तिका कारण राज्य शक्तिको प्रयोग गरी जिम्मेवार प्रहरी अधिकृतमाथि कारबाही गरिनु उचित अभ्यास होइन। लोकतन्त्रमा समर्थन र असहमति दुवैलाई सम्मान गरिनुपर्छ। कसैको लोकप्रियता छ भन्दैमा उसका विषयमा प्रश्न उठाउनै नपाइने वा फरक धारणा राख्नै नपाइने अवस्था सिर्जना हुनु लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत हो।

    यदि एउटा सार्वजनिक अभिव्यक्तिका कारण मातहतका कर्मचारीमाथि यस्तो व्यवहार गरिन्छ भने, विगतमा सार्वजनिक विवादमा परेका अन्य अभिव्यक्तिप्रति पनि समान मापदण्ड अपनाइएको थियो कि थिएन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। कानुन र अनुशासन सबैका लागि समान हुनुपर्छ, चयनात्मक होइन।

    साथै, नेपाल प्रहरी जस्तो पेशागत संस्थाको निर्णय प्रक्रियामा कुनै व्यक्तिको चाहना वा दबाबभन्दा संस्थागत मूल्य, कानुन र निष्पक्षता नै सर्वोपरि हुनुपर्छ। यस विषयमा प्रहरी महानिरीक्षक प्र.म.नि. दानबहादुर कार्कीको पनि गम्भीर ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।

    अन्त्यमा, मेरा विचार कुनै दल, व्यक्ति वा आस्थाप्रतिको आग्रह वा पूर्वाग्रहबाट प्रेरित होइनन्। म सधैं राष्ट्र, लोकतान्त्रिक मूल्य, संस्थागत मर्यादा र सत्य तथ्यलाई केन्द्रमा राखेर आफ्ना विचार प्रस्तुत गर्ने प्रयास गर्दछु।
    – विशाल भण्डारी
    धुर्कोट गाउँपालिका–५, गुल्मी
    हाल: जापान



    lumbinisanjal   
  • २०८३ असार २५, बिहीबार १२:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP