• २०८३ असार २१ | Sun, 05 Jul 2026
  • Dark Mode

          Subscribe

    एआई र मेसिन लर्निङमा नवप्रवर्तन खोज्दै ग्लोबल आइएमई बैंक, ‘एआई एन्ड एमएल ह्याकाथन २०२६’ सुरु

    • lumbinisanjal
    • २०८३ असार २०, शनिबार १७:१७
    182
    SHARES
    एआई र मेसिन लर्निङमा नवप्रवर्तन खोज्दै ग्लोबल आइएमई बैंक, ‘एआई एन्ड एमएल ह्याकाथन २०२६’ सुरु

    काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङ (एमएल) को प्रयोग विस्तार गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई एआई एन्ड एमएल ह्याकाथन २०२६’ शुक्रबारदेखि सुरु गरेको छ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गर्दै डिजिटल बैंकिङको भविष्य निर्माणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले ह्याकाथनबाट बैंकिङ सेवालाई अझ सुरक्षित, सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउने नवीन सोच र समाधानहरू प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

    गत वर्ष पहिलो पटक आयोजना गरिएको ह्याकाथनको सफलतापछि बैंकले यस वर्ष दोस्रो संस्करण सञ्चालन गरेको हो। प्रतियोगितामा प्रविधिप्रति रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूबाट खुला आवेदन आह्वान गरिएको थियो। छनोट प्रक्रियापछि उत्कृष्ट १४ टोली अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका छन्।

    दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगिताको पहिलो चरणमा सहभागीहरूले लगातार ३६ घण्टा कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथनमार्फत आफ्ना परियोजना प्रस्तुत गर्नेछन्। प्रतियोगिताका सहभागीहरूका लागि आवासीय व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ।

    प्रतियोगितामा सहभागी टोलीहरूले बैंकले निर्धारण गरेका विभिन्न विषयमा आधारित समाधान प्रस्तुत गर्नेछन्। उनीहरूको लक्ष्य एआई र एमएलको प्रयोगमार्फत बैंकिङ सेवालाई अझ सुरक्षित, छिटो, सहज र ग्राहकमैत्री बनाउने नवीन प्रविधि विकास गर्नु हुनेछ।
    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेग्मीले उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कारका साथै ग्लोबल आइएमई बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसरसमेत प्रदान गरिने जानकारी दिनुभयो।

    ग्लोबल आइएमई बैंक आधुनिक प्रविधिको प्रयोग र गुणस्तरीय ग्राहक सेवाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मानबाट पुरस्कृत हुँदै आएको बैंक हो। बैंकले ‘बैंक अफ द इयर’, ‘बेस्ट इन्टरनेट बैंक’, ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल’ लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।

    हाल ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै, विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याएर राष्ट्रिय अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान दिँदै आएको बैंकले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ असार २०, शनिबार १७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP