• २०८३ असार २१ | Sun, 05 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘कपडा होइन, सम्मान बाँड्ने अभियान’ : राप्ती गाउँपालिकामा कपडा बैंक शुभारम्भ

    • lumbinisanjal
    • २०८३ असार २०, शनिबार १६:०४
    234
    SHARES
    ‘कपडा होइन, सम्मान बाँड्ने अभियान’ : राप्ती गाउँपालिकामा कपडा बैंक शुभारम्भ

    दाङ । राप्ती गाउँपालिकामा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरणका रूपमा ‘कपडा बैंक’ स्थापना गरी औपचारिक रूपमा शुभारम्भ गरिएको छ। राप्ती गाउँपालिकाको पहल तथा क्लोथ एण्ड फुड बैंक नेपालको सहकार्यमा सुरु भएको यस अभियानले प्रयोगमा नआएका तर उपयोग गर्न मिल्ने कपडा तथा अन्य सामग्री सङ्कलन गरी विपन्न, असहाय र अभावग्रस्त नागरिकलाई निःशुल्क वितरण गर्ने लक्ष्य लिएको छ।

    कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले कपडा बैंक केवल कपडा वितरण गर्ने अभियान नभई सामाजिक सद्भाव, साझेदारी र मानवीय संवेदनालाई बलियो बनाउने अभियान भएको बताउनुभयो।

    “हाम्रो घरमा थन्किएका तर प्रयोगयोग्य कपडाले कसैको जीवनमा मुस्कान ल्याउन सक्छ। त्यसैले यो अभियानलाई सबै नागरिकको साझा अभियानका रूपमा अघि बढाउन आवश्यक छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, विद्यालय, निजी क्षेत्र र आम नागरिकको सक्रिय सहभागिताले मात्र यसको उद्देश्य पूरा हुन्छ,” अध्यक्ष बिष्टले भन्नुभयो।

    कार्यक्रममा क्लोथ एण्ड फुड बैंक नेपालका संस्थापक अध्यक्ष कमल जिसीले पुनःप्रयोग (Reuse) को संस्कृतिलाई विस्तार गर्दै सामाजिक सेवालाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले देशभर अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।

    “हामी पुराना कपडा बाँड्ने होइन, सम्मान बाँड्ने अभियानमा छौं। प्रयोगमा नआएका सामग्रीलाई पुनःप्रयोगमा ल्याउँदा वातावरण संरक्षण हुन्छ, फोहोर घट्छ र आवश्यकतामा रहेका नागरिकले सम्मानपूर्वक सहयोग पाउँछन्। एउटा कपडाले कसैको शरीर मात्र होइन, आत्मविश्वास पनि ढाक्न सक्छ,” जिसीले बताउनुभयो।
    उहाँले कपडा बैंकलाई दिगो सामाजिक अभियानका रूपमा विस्तार गर्न सबै स्थानीय तह, संघसंस्था तथा नागरिकलाई सहयोग र सहकार्यका लागि आह्वान समेत गर्नुभयो।

    प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको पहल तथा जिन्सी शाखा प्रमुख रेशम अधिकारीको समन्वयमा सम्पन्न कार्यक्रममा सिसहनिया उद्योग वाणिज्य सङ्घका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

    देशभर सञ्चालन हुँदै आएको क्लोथ एण्ड फुड बैंक नेपालको अभियानले प्रयोगयोग्य सामग्रीको पुनःप्रयोगलाई प्रोत्साहन गर्दै वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र आवश्यकतामा रहेका नागरिकलाई सम्मानपूर्वक सहयोग पुर्‍याउने विश्वास लिइएको छ।



    lumbinisanjal   
  • २०८३ असार २०, शनिबार १६:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP