• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    “सदनदेखि जनतासम्म: निमा गिरीको एक वर्षे ‘रिपोर्ट कार्ड’ सार्वजनिक”

    • lumbinisanjal
    • २०८२ चैत्र २७, शुक्रबार ०९:४२
    884
    SHARES
    “सदनदेखि जनतासम्म: निमा गिरीको एक वर्षे ‘रिपोर्ट कार्ड’ सार्वजनिक”

    बुटवल ,२७ चैत  । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले आफ्नो एक वर्षे कार्यसम्पादनको विवरण सार्वजनिक गर्दै ३६६ दिनको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नु भएको छ।

    २०८१ साल वैशाख १ गतेदेखि २०८१ साल चैत ३० गतेसम्मको अवधिलाई समेट्दै तयार पारिएको उक्त रिपोर्ट कार्डमा उहाँले प्रदेशसभामा आफ्नो उपस्थिति, सदनमा उठाएका विषयहरू, तथा विकाससम्बन्धी पहलहरू समेट्नु भएको छ ।

    सार्वजनिक विवरणअनुसार उक्त अवधिमा प्रदेशसभाको कुल ३८ दिन बैठक बसेकोमा उहाँले ३५ दिन उपस्थित जनाउनु भएको छ भने ३ दिन अनुपस्थित रहनु भएको छ । उपस्थिति दर करिब ९२ प्रतिशत रहेको देखिन्छ । साथै, उहाँले सदनमा ५ पटक आफ्ना धारणा राख्दै जम्मा ४५ मिनेट समय प्रयोग गरेको समेत कार्डमा उल्लेख गर्नु भएको छ ।

    रिपोर्ट कार्डमा समावेश विवरणअनुसार गिरीले विशेषगरी शासन तथा नीतिगत सुधार, पूर्वाधार तथा विकास, आर्थिक तथा बजेटसम्बन्धी विषय, तथा शिक्षा र सामाजिक विकासका क्षेत्रमा जोड दिनु भएको छ । शासन तथा नीतिगत विषयतर्फ उहाँले राजनीतिक दलहरूको घोषणापत्रलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने, सार्वजनिक खर्चमा पारदर्शिता कायम गर्नुपर्ने, तथा मन्त्रीहरूबीच कार्यसम्पादन करार लागू गर्नुपर्ने जस्ता विषय उठाएको बताउनु भयो ।

    त्यस्तै, पूर्वाधार विकासअन्तर्गत सडक, पुल तथा नहर निर्माण, अधुरा योजनाहरूको कार्यान्वयन तथा ग्रामीण विकासलाई प्राथमिकता दिनुपर्ने विषयमा उहाँले ध्यानाकर्षण गराएको समेत बताउनु भएको छ । आर्थिक तथा बजेटसम्बन्धी मुद्दामा योजना बैंक स्थापना, समानुपातिक बजेट विनियोजन, अनावश्यक खर्च नियन्त्रण तथा अधुरा योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको उल्लेख गर्नु भएको छ ।

    शिक्षा तथा सामाजिक विकासतर्फ विद्यालय कर्मचारीहरूको सेवा-सुविधा वृद्धि, विद्यार्थी ड्रपआउट समस्या समाधान, बाल सुधार गृहका बालबालिकाको शिक्षा सुनिश्चितता तथा युवामुखी सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा आवाज उठाएको उल्लेख गर्नु भएको छ ।

    रिपोर्ट कार्डमा विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको, केही संरचना निर्माण तथा संस्थागत सुधारका कामहरू अघि बढिरहेको उल्लेख गरिएको छ । साथै, जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रममार्फत जनगुनासो संकलन तथा समाधानका पहलहरू पनि गरिएको जनाइएको छ ।

    आफ्नो कार्यसम्पादन सार्वजनिक गर्दै जनप्रतिनिधिले पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने प्रयास गरेको भन्दै यसलाई सकारात्मक अभ्यासका रूपमा हेरिएको छ । स्थानीयस्तरमा समेत यस्ता अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी प्यूठानबाट नेपाली काँग्रेसको समानुपातिक सांसद हुनुहुन्छ ।

    उहाँले प्युठान कारागारमा पुस्तकालय स्थापना, आयोजना बैंक निर्माण, लैंगिक मैत्री शौचालय र बाल सुधार गृहमा पुस्तकालय जस्ता कार्यसमेत गरि सक्नु भएको छ । गिरीले प्रदेशको अधिकार र औचित्यमा विश्वास गर्दै केन्द्रको प्रभावबाट मुक्त गरेर प्रदेशलाई सशक्त बनाउनुपर्नेमा जोड दिँदै आउनु भएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २७, शुक्रबार ०९:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP