• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    चौथो रुपन्देही खुला फुटसलमा खेलाडीको जोश, उपाधिका लागि ३२ टोलीबीच भिडन्त

    • lumbinisanjal
    • २०८३ श्रावण २९, शुक्रबार १८:४३
    234
    SHARES
    चौथो रुपन्देही खुला फुटसलमा खेलाडीको जोश, उपाधिका लागि ३२ टोलीबीच भिडन्त

    बुटवल । बुटवलमा युवाको खेल जोश, प्रतिस्पर्धात्मक ऊर्जा र फुटसलप्रतिको बढ्दो आकर्षणलाई एकै मैदानमा उतार्दै चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता–२०८३ सुरु भएको छ।

    युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन र सामाजिक एकतालाई बलियो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाको संरक्षण, रेडबुलको मुख्य प्रायोजन तथा फुलबारी गाइजको आयोजनामा प्रतियोगिता सुरु भएको हो।

    सुख्खानगरस्थित एड्रिक फुटसलमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमै रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। पहिलो खेलमा सियोन एफसीले मुर्गिया एसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। यस्तै, अर्को खेलमा फुलबारी एफसीले लाखे एफसीलाई ५–१ गोल अन्तरले पराजित गरेको छ।

    प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र खेलकुद विकासमा स्थानीय तहबाट निरन्तर लगानी भइरहेको बताउनुभयो। बुटवलमा खेल गतिविधि बढेसँगै खेलाडीका लागि नयाँ अवसर सिर्जना भइरहेको उल्लेख गर्दै उहाँले खेलकुदको विकासका लागि तीनै तहका सरकारको सहकार्य र लगानी आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रमको अध्यक्षता फुलबारी गाइजका अध्यक्ष तेजु राणा मगरले गरेका थिए।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, तिनाउ हस्पिटलका अध्यक्ष चिरञ्जीवी जोशी, साझा हस्पिटलका अध्यक्ष गोविन्द खनाल, संरक्षक यम गलामी, वरिष्ठ सल्लाहकार हसन्त लामा, लाफा समूहका अध्यक्ष बबिन थापा लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो।

    प्रतियोगिताको उपाधिका लागि ३२ टोली मैदानमा उत्रिएका छन्। आगामी साउन ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

    यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँसहित कप, उत्कृष्ट गोलकिपर र हाइस्कोररलाई ५–५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक सरोज दर्लामीले जानकारी दिनुभयो।

    फुटसलको बढ्दो लोकप्रियतासँगै आयोजना गरिएको प्रतियोगिताले बुटवलमा खेलाडीको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकको विश्वास छ। अबका खेलमा उपाधिका लागि ३२ टोलीबीचको प्रतिस्पर्धा अझै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण २९, शुक्रबार १८:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP