• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    नेतृत्वको अर्को चरण : गगन थापाको Vision राजनीति

    • lumbinisanjal
    • २०८२ माघ २८, बुधबार ०८:०४
    2.2K
    SHARES
    नेतृत्वको अर्को चरण : गगन थापाको Vision राजनीति

    ✍️ मदन पाण्डे 

    आज धेरै नेपाली नागरिक रवि लामिछाने र बालेन शाहप्रति आकर्षित देखिन्छन्। यसको कारण बुझ्न कठिन छैन।

    उनीहरूले पुरानो राजनीतिक अभ्यासप्रति जनतामा जमेको निराशालाई स्वर दिए, बिग्रँदै गएको प्रणालीमाथि खुलेर प्रश्न उठाए र “सबै उस्तै हुन्” भन्ने मानसिकतामा दरार पैदा गरे। यो भावना गलत होइन—बरु आवश्यक थियो। तर अब समय अलि अगाडि बढेको छ। प्रश्न उठाइसकेपछि अब उत्तर खोज्ने चरणमा हामी आइपुगेका छौँ।

    रवि र बालेनले असन्तोषलाई प्रतिनिधित्व गरे, आक्रोशलाई शब्द दिए र जनतालाई सचेत बनाउने काम गरे। यसले राजनीतिमा तरंग ल्याएको छ। तर देश चलाउने जिम्मेवारी केवल आक्रोशले पूरा हुन्छ त? कि त्यसका लागि स्पष्ट नीति, ठोस एजेन्डा र दीर्घकालीन दृष्टि पनि अपरिहार्य हुन्छ? यहीँबाट वास्तविक बहस सुरु हुन्छ।
    आज धेरै “घण्टी समर्थक” साथीहरू भन्छन्—पुराना दल होइनन्, नयाँ चाहिन्छ। यो तर्क सहि हो। तर नयाँ भन्नाले केवल अनुहार फेरिनु हो कि सोच, नीति र जिम्मेवारीको तह पनि बदलिनु हो?

    बालेन शाह सक्षम प्रशासक हुन्, काठमाडौं महानगरमा केही काम देखिएको छ। रवि लामिछाने सशक्त र प्रभावशाली आवाज हुन्, उनले राजनीतिमा प्रश्न गर्ने नयाँ शैली भित्र्याएका छन्। तर राष्ट्र सञ्चालनको तहमा पुग्दा केवल विरोध र भावनात्मक आह्वान पर्याप्त हुँदैन—त्यहाँ स्पष्ट रोडम्याप आवश्यक हुन्छ।

    यहीँ कुरा गगन थापा फरक देखिन्छन्। गगन नारा बेच्ने नेता होइनन्, नीति प्रस्ताव गर्ने नेता हुन्। उहाँले स्वास्थ्य क्षेत्र सुधारका ठोस एजेन्डा अघि सार्नुभयो, शिक्षामा गुणस्तरीय परिवर्तनको खाका प्रस्तुत गर्नुभयो, युवालाई देशमै अवसर दिनुपर्ने बहसलाई राष्ट्रिय एजेन्डा बनाए। अझ महत्वपूर्ण कुरा—उनी आफ्नै पार्टीभित्रका कमजोरी र गलत अभ्यासप्रति पनि मौन बसेनन। यो नै जिम्मेवार राजनीतिको संकेत हो।

    स्वास्थ्य, शिक्षा, रोजगारी, संघीयता, अर्थतन्त्र र परराष्ट्र नीति—यी सबै क्षेत्रमा देश आज “के गर्ने, कसरी गर्ने र कहिलेसम्म गर्ने” भन्ने स्पष्ट उत्तर खोजिरहेको छ। गगन थापाको राजनीति भीड उचाल्ने होइन, प्रणाली सुधार्ने सोचमा आधारित छ। यो कुरा पुराना दल मन नपर्ने साथीहरूले पनि इमानदारीपूर्वक स्वीकार्नुपर्ने समय आएको छ।

    घण्टी समर्थन गर्नु भनेको प्रश्न गर्ने साहस देखाउनु हो—यो साहस गलत होइन। तर अब देशलाई प्रश्न मात्र होइन, समाधान पनि चाहिएको छ। गगन थापा सम्पूर्ण समाधान होइनन्, तर समाधानतर्फ डोर्‍याउन सक्ने स्पष्ट दृष्टि र नीतिगत तयारी भएका नेता अवश्य हुन्।

    यो चुनाव रवि बनाम गगन वा बालेन बनाम गगन होइन। यो चुनाव आक्रोशको राजनीति कि समाधानको राजनीति भन्ने हो। अस्पष्ट असन्तोष कि स्पष्ट Vision भन्ने हो।

    त्यसैले रवि–बालेनलाई मन पराउने साथीहरूप्रति अपमान होइन, एउटा इमानदार आग्रह मात्र—एकपटक भावनाभन्दा माथि उठेर एजेन्डा, दृष्टि र दीर्घकालीन सोचलाई आधार बनाएर निर्णय गरौँ।
    राजनीति बदल्न आवाज चाहिन्छ,
    तर देश चलाउन दृष्टि चाहिन्छ।
    त्यसैले—यो पालि, Vote with Gagan Vision।



    lumbinisanjal   
  • २०८२ माघ २८, बुधबार ०८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP