• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    संकटमा कांग्रेसले नै निकास दिन्छ, रूपन्देही–२ लाई शिक्षा र स्वास्थ्यको हव बनाउँछु : चुन्न शर्मा पौडेल

    • lumbinisanjal
    • २०८२ माघ २७, मंगलवार ०९:०३
    2.7K
    SHARES
    संकटमा कांग्रेसले नै निकास दिन्छ, रूपन्देही–२ लाई शिक्षा र स्वास्थ्यको हव बनाउँछु : चुन्न शर्मा पौडेल

    बुटवल,२७ माघ । नेपाली कांग्रेस रूपन्देही निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय समितिले बुटवल उपमहानगरपालिका वडा नं. ५ मा वडा स्तरीय चुनाव प्रचार–प्रसार कार्यालय सञ्चालनमा ल्याएको छ।
    बुटवल–५ स्थित नेपालगञ्ज रोडमा सोमबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की र क्षेत्र नं. २ का उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन्।

    कार्यक्रममा उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व सधैं नेपाली कांग्रेसले नै गरेको उल्लेख गर्दै मुलुक संकटमा परेका हरेक घडी कांग्रेसले नै निकास दिएको इतिहास स्मरण गराए। उनले वर्तमान समयमा देखापरेका आर्थिक, सामाजिक तथा राजनीतिक समस्याको समाधान पनि कांग्रेस नेतृत्वबाटै सम्भव हुने दाबी गरे।

    “रूपन्देही–२ को समग्र विकास र समृद्धि नै मेरो मुख्य एजेन्डा हो,” पौडेलले भने, “रूपन्देहीलाई शिक्षा र स्वास्थ्यको हवका रूपमा विकास गर्ने स्पष्ट योजना लिएर म चुनावी मैदानमा उत्रिएको छु।”
    देशमा रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि उद्योगी–व्यवसायमैत्री कानुन अपरिहार्य रहेको उल्लेख गर्दै उनले उद्योग, व्यापार र लगानीलाई प्रोत्साहन गर्ने कानुनी संरचना निर्माण आफ्नो प्राथमिकतामा रहेको बताए।

    त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेन–जी युवाहरूले उठाएका मुद्दा र अपेक्षालाई सम्बोधन गर्न सक्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताए। भ्रष्टाचारको अन्त्य, सुशासन र मुलुकको दिगो समृद्धिका लागि कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने आवश्यकता औंल्याए।

    नेपाली कांग्रेस बुटवल–५ का सभापति दीपक प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकाल, जिल्ला कोषाध्यक्ष हरी प्रसाद अर्याल, क्षेत्रीय सभापति प्रजापाल गिरी, उपसभापति महादेव कसौधन, क्षेत्रीय प्रतिनिधि समर मियाँलगायतले मुलुक कठिन अवस्थामा पर्दा कांग्रेसले नै जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै वर्तमान असहज परिस्थितिलाई पनि कांग्रेस नेतृत्वको सरकारले सफलतापूर्वक व्यवस्थापन गर्ने विश्वास व्यक्त गरे।



    lumbinisanjal   
  • २०८२ माघ २७, मंगलवार ०९:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP