• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    रेसुङ्गा विमानस्थलमा हप्तामा चार दिन नियमित उडान, गुल्मीवासीलाई हवाई यात्रामा ठूलो राहत

    • lumbinisanjal
    • २०८२ पुष २०, आईतवार ०९:५२
    1.7K
    SHARES
    रेसुङ्गा विमानस्थलमा हप्तामा चार दिन नियमित उडान, गुल्मीवासीलाई हवाई यात्रामा ठूलो राहत

    गुल्मी, २० पुस ।गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको चार दिन नियमित हवाई उडान सञ्चालन हुँदै आएको छ । नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार काठमाडौंबाट रेसुङ्गा तथा रेसुङ्गाबाट काठमाडौं उडान भइरहेका छन् ।

    रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय अधिकांश उडानहरू तालिकाअनुसार नै सञ्चालन भइरहेका छन् । लामो समयसम्म उडान अनियमित हुँदा सास्ती भोग्दै आएका जिल्लावासीका लागि अहिलेको नियमितताले हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको उनले बताए ।

    गत शनिबार भने जहाज निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ११ बजेर २९ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । नियमित तालिकाअनुसार काठमाडौंबाट बिहान ६ः३० बजे र गुल्मीबाट काठमाडौंका लागि बिहान ७ः४५ बजे उडान हुने व्यवस्था रहेको छ ।

    नियमित हवाई सेवाले जिल्लाको व्यापार, पर्यटन तथा समग्र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने रेसुङ्गा नगरपालिका–१० का पूर्व वडाध्यक्ष पदमप्रसाद अर्यालले बताए । उनका अनुसार हवाई सेवाले गुल्मीलाई राजधानीसँग छिटो र सहज रूपमा जोड्न महत्वपूर्ण भूमिका खेलेको छ ।

    काठमाडौंसहित अन्य स्थानसँग गुल्मीलाई हवाई मार्गबाट जोड्ने उडानले सर्वसाधारण, बिरामी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी र व्यवसायीहरूलाई ठूलो राहत मिलेको स्थानीयवासीको भनाइ छ । विशेषगरी आकस्मिक उपचारका लागि राजधानी जानुपर्ने बिरामीहरूका लागि हवाई सेवा जीवनरक्षक साधनका रूपमा रहेको छ ।

    हाल काठमाडौं–रेसुङ्गा हवाई भाडा ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गा–काठमाडौं ७ हजार ३ सय रुपैयाँ तोकिएको छ । दिउँसो हावा चल्ने सम्भावना बढी हुने भएकाले सुरक्षालाई ध्यानमा राख्दै उडानहरू बिहानै सञ्चालन गरिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष २०, आईतवार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP