• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार १०:२७
    1.7K
    SHARES
    छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    काठमाडौं, ९ कार्तिक ।  मिथिलाञ्चललगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै छ । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन शनिबार ‘नहाय खाय’ सम्पन्न गरेका व्रतालुले कात्तिक शुक्ल पञ्चमी तिथिका दिन आज ‘खरना’ मनाउन लागेका हुन् ।

    आज बिहानै पवित्रस्थलमा स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खीर कूल देवता, छठी देवी र चन्द्रमालाई चढाइ व्रतालुले प्रसाद स्वरुप खाने गर्दछन् ।

    शनिबार व्रत सुरु गरेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

    पर्वको तेस्रो दिन अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनाइएको घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई ‘सझियाघाट’ भनिन्छ ।

    त्यसैगरी सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने परम्परा रहेको छ ।

    यस पर्वमा बाँसको ढकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

    पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ।

    महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार १०:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP