• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु

    • lumbinisanjal
    • २०८२ कार्तिक ३, सोमबार ००:०२
    3.3K
    SHARES
    लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु

        ब्रेन स्ट्रोक र मस्तिष्क ट्यूमरको उपचारमा नयाँ सम्भावना

    बुटवल, ३ कार्तिक। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलोपटक न्यूरो इन्टरभेन्सन सेवा सुरु गरिएको छ। यो सेवाको सुरुवातसँगै अब ब्रेन स्ट्रोक, मस्तिष्कको रक्तनली फुट्ने (एन्युरिज्म), ट्यूमर तथा विभिन्न स्नायू सम्बन्धी रोगहरूको आधुनिक उपचार बुटवलमै गर्न सकिने भएको छ।

    न्यूरो इन्टरभेन्सन प्रविधि मस्तिष्क, मेरुदण्ड तथा तिनसँग सम्बन्धित रक्तनलीहरूमा देखिने समस्याको औषधि र शल्यक्रियाबीचको आधुनिक उपचार पद्धति हो। यस पद्धतिअन्तर्गत शरीरको रक्तनलीमार्फत रोगग्रस्त भागसम्म पुगेर उपचार गरिन्छ।

    अस्पतालका न्यूरो सर्जन डा. राजिव भण्डारीको नेतृत्वमा शनिबार दुई जना बिरामीको एन्युरिज्मको डीएसए उपचार सफलतापूर्वक सम्पन्न गरिएको छ। यो सफलतासँगै अस्पतालले न्यूरो उपचार सेवामा नयाँ आयाम थपेको छ।

    डा. भण्डारीका अनुसार, यो प्रविधिबाट मस्तिष्कको रक्तनली फुट्ने, स्ट्रोक हुने, धमनी अवरुद्ध हुने, क्यारोटिड आर्टरीमा ब्लकेज, इंट्राक्रानियल हेमोरेज, तथा रगतको आपूर्तिबाट निर्भर ट्यूमर जस्ता समस्या कम जोखिममा उपचार गर्न सकिन्छ।

    “यो प्रविधिबाट शल्यक्रियाको आवश्यकता नपरी रगतको नलीमार्फतै रोगग्रस्त भागमा पुगेर उपचार गर्न सकिन्छ। यो पद्धति कम जोखिमपूर्ण, कम पीडादायी र छिटो निको हुने खालको भएकाले बिरामीका लागि प्रभावकारी सावित भएको छ,”
    भन्नुहुन्छ — डा. राजिव भण्डारी, न्यूरो सर्जन एम सि एच ।

    उनीले सफल उपचारमा साथ दिने डा. करुणा ताम्राकार, डा. स्मृति आचार्य, डा. सन्तोष भट्टराई, डा. मनिष पराजुली, नर्सिङ टिम, क्याथल्याब, आइसियू, एनेस्थेसिया टिम तथा अस्पताल प्रशासनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

    अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले सेवालाई विशिष्टिकृत बनाउँदै लैजाने क्रममा प्राप्त पछिल्ला उपलब्धिहरू अस्पताल परिवार र सेवाग्राही दुवैका लागि उत्साहजनक भएको बताउनुभयो ।

    उहाँका अनुसार, “हामी आधुनिक प्रविधिको प्रयोगसँगै दक्ष जनशक्ति परिचालनमा जोड दिइरहेका छौं। निरन्तर प्राविधिक सुदृढीकरण र गुणस्तरीय सेवा विस्तार नै हाम्रो लक्ष्य हो,”
    भन्नुभयो ।

    न्यूरो इन्टरभेन्सन सेवाको सुरुवातसँगै लुम्बिनी प्रदेश तथा आसपासका बिरामीले अब काठमाडौं वा भारत जस्ता सहर धाउन नपर्ने र उपचार सहज हुने विश्वास लिइएको छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ३, सोमबार ००:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP