• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको थामिनसक्नु भिड

    • lumbinisanjal
    • २०८२ आश्विन ५, आईतवार ११:२९
    2.4K
    SHARES
    मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको थामिनसक्नु भिड

    मुक्तिनाथ , ५ असोज । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा आइतबार विहानैदेखि भक्तजनहरूको थामिनसक्नु भिड लागेको छ ।

    सोह्रश्राद्धको अन्तिम दिन औँसी तीथिमा कागबेनीमा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गरी शुद्ध भएपछि भक्तजनहरू मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुगेका छन् ।

    जेनजी आन्दोलनपछि सहज तथा अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड खुलेपछि आइतबार विहानदेखि करिब ५ हजार भक्तजनले दर्शन गरेको मन्दिर ब्यवस्थापन समितिका कर्मचारी रविन सुबेदीले बताउनुभयो । कर्मचारी सुबेदीले भन्नुभयो, ‘‘साउन महिना यताकै सबैभन्दा धेरै भक्तजन आउनुभएको छ, अहिले दर्शनका लागि आउनुभएका अधिकांश नेपाली हिन्दु धर्मालम्बी हुनुहुन्छ ।’’

    आइतबार करिब ७ हजार भक्तजनले दर्शन गर्ने अनुमान गरिएको कर्मचारी सुबेदीको भनाइ छ । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । पछिल्लो समय मन्दिरमा भौतिक पूर्वाधारसहित भक्तजनको दर्शनका लागि सहज रहेको कतारबाट दशैं विदामा आउनुभएका रमेश पौडेलले बताउनुभयो ।

    भक्तजन पौडेलले भन्नुभयो, ‘‘सुविधा थपिएपछि सहजै दर्शन गरेर फर्कियों, स्नान गर्नु अगाडि र स्नान गरिसकेपछि कपडा परिवर्तन गर्न लाइनमा पालो कुर्नुपर्ने बाध्यता हटेको छ ।’’ मन्दिरमा १०८ धारा र कुण्डमा स्नान गर्ने क्रममा चिप्लिएर लड्न थालेपछि संकलिन भेटीबाट धारा र कुण्डमा ३ हजार १४० स्क्वायर फिट ढुङ्गा बिछइएको छ । दुईसय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था गरिएको छ ।

    संसारको जुनकुनै स्थानमा भए पनि एक पटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुने विश्वास रहेको मन्दिरका पूजारी कृष्णप्रसाद सुबेदीले बताउनुभयो ।

    हिन्दु धर्मग्रन्थअनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेको इतिहास छ । बौद्धमार्गीअनुसार तिब्वतबाट बौद्धमार्गी पण्डित कैलाश पर्वत दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको पूजारी सुबेदीको भनाइ छ ।

    मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि बजार क्षेत्रमा सडक बत्ती तथा सिसीक्यामेरा जडान गरिएको छ । लेक लाग्ने समस्याबाट ग्रसित भएकाहरुको उपचारका लागि ‘हाइ अल्टिच्युड’ उपचार केन्द्रमा स्वास्थ्यकर्मी, स्वयंमसेवक सहित सुरक्षाकर्मीको समेत उपस्थिति रहेकाले भक्तजनलाई समस्या नभएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता प्रमेश गुरुङले बताउनुभयो ।

    समुन्द्र सतहदेखि ३ हजार ६१० मिटरको उचाइँमा अवस्थित मुक्तिनाथ मन्दिर मुक्ति क्षेत्रको नामले चिनिन्छ । मुक्तिनाथ मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी बार्षिक करिब ८ लाखको आगमन हुनेगरेको अनुमान गरिन्छ । मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तिर्थालु पुग्ने तथ्याङ्कले देखाउँछ । – गोरखापत्र



    lumbinisanjal   
  • २०८२ आश्विन ५, आईतवार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP